काठमाडौँ: जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे अनुसन्धान सकी प्रतिवेदन तयारीमा जुटेको छ। प्रहरीका अनुसार एकदुई दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। कास्कीका एसपी श्यामबाबु ओलियाले भने, ‘अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन्।’
रवि लामिछाने कार्तिक २ मा काठमाडौँबाट पक्राउ परेका थिए। उनलाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र सङ्गठित अपराध गरेको आरोपमा मुद्दा दायर गर्नका लागि सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। बिहीबार म्याद लिनका लागि रवि सहित पाँच जना प्रतिवादीलाई अदालतमा उपस्थित गराउने योजना रहेको कास्कीका एसपी ओलियाले जनाएका छन्।
संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सूर्यदर्शनको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा सबैभन्दा पहिले पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए। प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेकोले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। कास्की जिल्ला अदालतमा पुस ५ सम्म अभियोग पत्र दर्ता गर्नुपर्नेछ।
नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार मुद्दाको अभियोग पत्र तयार गर्न जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १० दिनको समय मागेको छ। ती अधिकृतले भने, ‘त्यसैले कम्तीमा ७ दिनअघि बुझाउने गरी प्रतिवेदन तयारी भइरहेको छ।’
सूर्यदर्शनको रकम अपचलनमा लामिछाने, जोशी, गुल्मीकी लिला पछाई, तनहुँका राम बहादुर खनाल, र पोखराका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन्। पक्राउ परेकाबाहेक ३५ जनालाई फरार प्रतिवादी कायम गर्न राय दिने तयारी गरिएको छ। अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘पक्राउ परेका ५ जनाबाहेक ३५ जनालाई फरार प्रतिवादी बनाउने तयारी छ।’
सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरिएको संसदीय समितिको छानबिन निष्कर्ष छ। सूर्यदर्शनबाट मात्रै ५ करोड ५८ लाख रकम गोरखा मिडियामा ल्याइएको पाइएको छ।
रवि लामिछानेले बयानमा आफू सूर्यदर्शन सहकारीको सेयर सदस्य वा ऋणी नभएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइनँ।’ उनले बचत खाता वा ऋण खाता पनि नखोलेको बताएका छन्।
अनुसन्धानमा उनले सूर्यदर्शन सहकारीबाट कुनै ऋण नलिएको स्पष्ट गरेका छन्। उनले भनेका छन्, ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन।’
गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि आफू त्यहाँ गएको लामिछानेले बताएका छन्। उनले बयानमा १ करोड ८० लाखको सेयर आफूले लिएको तर त्यो पारिश्रमिकबाट कट्टा हुने सर्तमा लिएको बताएका छन्।
ग्यालेक्सी फोरकेका संस्थापक जीबी राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन्।