काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार ती मुद्दाहरूमा दायर अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी हुन्। यस निर्णयसँगै रवि लामिछानेविरुद्ध लगाइएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगहरू हटाइने भएका छन्।
महान्यायाधिवक्ता कार्यालयको आदेशअनुसार, रवि लामिछानेले आफूविरुद्ध राजनीतिक प्रतिशोधका कारण मुद्दा दायर गरिएको दाबी गर्दै निवेदन दिएका थिए। उक्त निवेदन तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसारको अवस्था देखिएको ठहर गर्दै अभियोग संशोधन गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ।
यद्यपि, ठगी तथा सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् रहने स्पष्ट गरिएको छ। पीडित बचतकर्ताहरूको हकहितलाई प्राथमिकतामा राख्दै कास्की, काठमाडौँ, रुपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा दायर मुद्दाहरूमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी कायम नरहने गरी अभियोग संशोधन गर्न सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिइएको छ।
महान्यायाधिवक्ता कार्यालयले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूलाई आवश्यक कारबाही अगाडि बढाउन निर्णयको प्रतिलिपि पठाइसकेको जनाएको छ।









