Sunday, June 21, 2026
Homeसामाचाररवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतबाट आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। उनी सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए। हिरासतमा थपिएको ४ दिनको म्याद आज समाप्त हुने भएकाले पुनः म्याद थपका लागि अदालतमा पेश गर्न लागिएको हो।

कास्की प्रहरीले लामिछानेबारेको अनुसन्धान लगभग पूरा गरी प्रतिवेदन तयार गर्ने प्रक्रियामा छ। एकदुई दिनभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। कास्कीका एसपी श्यामबाबु ओलियाले भने, “अनुसन्धान अधिकृतहरूले प्रतिवेदन तयार गरिरहेका छन्।”

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र सङ्गठित अपराधको कसुरमा मुद्दा दायर गर्नका लागि प्रहरीको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइने भएको छ।

संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्क प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन भएको निष्कर्ष निकालेपछि यस प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीसहित अन्य व्यक्तिहरू पक्राउ परेका थिए। जोशी गत असोज ६ मा पक्राउ परेका थिए। अनुसन्धानका क्रममा पक्राउ परेका सबैलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि मुद्दा चलाउने तयारी गरिएको छ। कानुनअनुसार, जोशी पक्राउ परेको मितिबाट ९० दिनभित्र अदालतमा मुद्दा दर्ता गरिनुपर्छ।

नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार, मुद्दाको अभियोग पत्र तयार गर्न सरकारी वकिल कार्यालयले १० दिनको समय मागेको छ। ती अधिकृतले भने, “त्यसैले प्रतिवेदन कम्तीमा ७ दिनअघि बुझाउने गरी तयारी भइरहेको छ।”

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई (गुल्मी), रामबहादुर खनाल (तनहुँ), र कृष्ण गुरुङ (पोखरा) हिरासतमा छन्। अनुसन्धानका क्रममा पक्राउ परेका ५ जनाबाहेक ३५ जनालाई फरार प्रतिवादीको रूपमा सूचीकरण गर्न सिफारिस गरिनेछ। अनुसन्धानमा संलग्न एक अधिकृतले भने, “पक्राउ परेकाबाहेकका ३५ जना फरार प्रतिवादी कायम गरिनेछ।”

सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा, र सानो पाइलाबाट जम्मा ६५ करोड ५४ लाख रकम गोरखा मिडिया नेटवर्कमा ल्याई अपचलन गरिएको संसदीय समितिले जनाएको छ। सूर्यदर्शनबाट मात्रै ५ करोड ५८ लाख रकम गोरखा मिडियामा लगिएको पुष्टि भएको छ।

पोखराको सूर्यदर्शन सहकारीसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको लामिछानेले बयानमा बताएका छन्। उनले भनेका छन्, “सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पदमा म थिइनँ। बचत खाता वा लोन खाता खोल्नुभएको छैन।”

अनुसन्धानका क्रममा लामिछानेले आफ्नो नाममा ऋण निकासा भएकोबारे अनभिज्ञता जनाएका छन्। “मेरो नाममा ऋण निकासा भएकोबारे मलाई कुनै जानकारी छैन,” उनले भनेका छन्।

ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक जीबी राईले आफूलाई कार्यक्रम सञ्चालन गर्न निम्तो दिएपछि त्यहाँ पुगेको लामिछानेले बताए। उनले गोर्खा मिडियामा १ करोड ८० लाखको सेयर लिएको र सो रकम पारिश्रमिकबाट कट्टा गर्ने सर्तमा आफू सहभागी भएको जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका