Friday, January 17, 2025
Homeसामाचाररवि छुटेलगत्तै गृहमन्त्रीलाई भ्रमण छोट्याएर किन काठमाडौं बोलाइयो ?

रवि छुटेलगत्तै गृहमन्त्रीलाई भ्रमण छोट्याएर किन काठमाडौं बोलाइयो ?

काठमाडौं: सुदूरपश्चिम प्रदेशमा तीन दिन रहने कार्यक्रमसहित धनगढी पुगेका गृहमन्त्री रमेश लेखक बिहीबारै भ्रमण छोट्याएर काठमाडौं फर्कने तयारीमा छन्।

गृहमन्त्री लेखकलाई कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं बोलाएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गृहमन्त्रीलाई कुनै महत्त्वपूर्ण विषयमा छलफल गर्न चाँडो काठमाडौं फर्कन भनेपछि भ्रमण छोट्याएर लेखक राजधानी फर्कने तयारीमा जुटेका हुन्।

गृहमन्त्री लेखक आफ्नो गृह प्रदेश सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार धनगढी पुगेका थिए। उनी शनिबार काठमाडौं फर्कने तालिका बनाए पनि नयाँ राजनीतिक घटनाक्रमका कारण आजै साँझ ५ बजे फर्किने भएका छन्।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले गृहमन्त्रीलाई बोलाउनु संयोग हो वा कुनै विशेष रणनीतिका लागि हो भन्नेबारे स्रोतले स्पष्ट खुलाउन चाहेन। तर दुवै नेताले फरक-फरक विषयमा छलफल गर्न बोलाएको बताइएको छ।

यसैबीच, प्रधानमन्त्री ओलीले आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सामान्यतया मन्त्रिपरिषद्को बैठक साताको बिहीबार र सोमबार बस्ने भए पनि यसपटक आकस्मिक रूपमा बैठक डाकिएको छ।

रवि लामिछानेको रिहाइपछिको राजनीतिक परिस्थिति र सरकारका आगामी कदमबारे छलफल गर्न गृहमन्त्रीलाई काठमाडौं बोलाइएको अनुमान गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका