बुटवल: रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।
न्यायाधीश पल्हादकुमार योगीको इजलासमा लामिछानेको बयान मात्र सकिएकाले थुनछेक बहस बुधवार नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।
बुटवलको सुप्रिम सहकारीको बचत ठगीसम्बन्धी आरोपमा आइतबार पूरक अभियोग दर्ता गरिएको थियो। बयानका लागि मंगलबार लामिछाने भैरहवा पुगेका थिए।
यस मुद्दामा लामिछानेसहित छविलाल जोशी, जीबी राई र अन्य ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। आरोपअनुसार सुप्रिम सहकारीका १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरिएको छ।
पछिल्लो छानबिनमा प्रहरीले सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएकाे र २ करोड रुपैयाँ लामिछानेको नाममा ऋण गएकाे पत्ता लगाएको थियो।
यसअघि लामिछाने कास्की र काठमाडौंका मुद्दामा क्रमशः ६५ लाख र ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। हाल उनीमाथि चितवन र पर्साका अदालतमा बयान दिन बाँकी छ। चितवन र पर्साका सरकारी वकिलसमक्ष बयानका लागि उनीमाथि पक्राउ पुर्जी जारी भएको छ।