अफगानिस्तानका विश्वविद्यालयलाई लैङ्गिकताको हिसाबले छुट्याएको तालिबानले जानकारी दिएको छ । साथै, यी संस्थानमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि जानकारीमा उल्लेख छ ।
देशका नयाँ उच्च शिक्षामन्त्री अब्दुल बकी हक्कानीले पत्रकार सम्मेलनमा देशमा सहशिक्षा अर्थात् केटा–केटी सँगै पढ्ने अनुमति नदिइने स्पष्ट पारे ।
उनले विश्वविद्यालयमा पढाइने विषयको समीक्षा गर्ने पनि घोषणा गरेका छन् ।
तालिबानको पहिलो कार्यकालका बेला सन् १९९६ र २००१ का बीच अफगानिस्तानका स्कूल र विश्वविद्यालयमा महिला र किशोरीको अध्यापनमा प्रतिबन्ध लगाइएको थियो ।
तालिबान शासनले नयाँ उच्च शिक्षा नीतिको घोषणा देशको राष्ट्रपति भवनमा झण्डा फहराएको एक दिन पछि गरिएको हो जुन उनीहरुको शासनको सुरु भएको संकेत हो ।
‘मानिसहरु मुसलमान छन्, उनीहरुले यसलाई स्वीकार गर्नेछन्’
नयाँ नीति अफगानिस्तानमाथि तालिबानको कब्जा हुनुअघिको शिक्षा नीतिभन्दा नितान्त फरक छ ।
पहिला देशका विश्वविद्यालयमा सहशिक्षाले मञ्जुरी पाएको थियो जहाँ पुरुष र महिला एकसाथ पढ्ने अनुमति थियो र छात्राले ड्रेस कोडको पालना पनि गर्नुपर्ने थिएन ।
यद्यपि, उच्च शिक्षामन्त्री हक्कानीमा सहशिक्षा समाप्त गर्ने निर्णयको विषयमा कुनै अफसोसको भाव देखिएन ।
उनले भने, ‘हामीलाई सहशिक्षा व्यवस्था समाप्त गर्न कुनै समस्या छैन । मानिसहरु मुसलमान छन् र उनीहरुले यसलाई स्वीकार गर्नेछन् ।’
‘पर्दा पछाडिबाट पढाउनका लागि पुरुष शिक्षकको सहयोग’
यस्तै केहीले नयाँ नियमका कारण महिला शिक्षाबाट टाढा हुने अनुमान गरेका छन् किनभने विश्वविद्यालयमा भिन्न कक्षा सञ्चालन गर्नका लागि पर्याप्त स्रोत साधन छैनन् ।
यद्यपि, हक्कानीले महिला शिक्षकको संख्या पर्याप्त भएको कुरामा जोड दिँदै जहाँ उृनीहरुको कमी छ, त्यहाँ दोस्रो विकल्पको खोजी गर्ने बताएका छन् ।
हक्कानीले भने, ‘यो सबै विश्वविद्यालयको क्षमतामा निर्भर हुन्छ । हामी पर्दा पछाडिबाट पढाउनका लागि पुरुष शिक्षक वा प्राविधिकको पनि सहयोग लिन सक्छौं ।’
देशको प्राथमिक र माध्यमिक स्कूलमा छात्रा–छात्रलाई भिन्न शिक्षा दिइनेछ । यो रुढिवादी अफगानिस्तानमा पहिलेदेखि नै साधारण चलन थियो ।
अब छात्राले हिजाब लगाउनुपर्नेछ । यद्यपि, हक्कानीले यो हेडस्कार्फ लगाउनसम्म सिमित छ वा पूरा अनुहार ढाक्नुपर्छ भन्नेबारे स्पष्ट जानकारी दिएका छैनन् ।
इस्लामी पाठ्यक्रम बनाउन चाहन्छ तालिबानः
देशका विश्वविद्यालयमा पढाइने विषयको समीक्षा गरिनेछ ।
हक्कानीले पत्रकारसँग भने, ‘तालिबान वाजिब र इस्लामी पाठ्यक्रम बनाउन चाहन्छ जुन हाम्रो इस्लामी, राष्ट्रिय र ऐतिहासिक मूल्य अनुरुप होस् । अर्कोतर्फ, यो अन्य देशसँग प्रतिस्पर्धा गर्नसमेत सक्षम होस् ।’
उच्च शिक्षाको नयाँ नीतिको घोषणा आइतबार काबुलको शहिद रब्बानी शिक्षा विश्वविद्यालयमा महिलाद्वारा तालिबानको लैङ्गिक नीतिको समर्थनमा गरिएको प्रदर्शनपछि गरिएको हो ।
शनिबार प्रदर्शनमा समावेश भएका सयौं महिलामध्ये अधिकांशले कालो नकाब लगाएका थिए र हातमा तालिबानको झण्डा समातेका थिए ।
प्रदर्शनका बेला तालिबानको नयाँ शासनको तारिफ गर्दै भाषण गरिए र महिला अधिकारको सुरक्षाको माग गर्नेहरुको बेस्सरी आलोचना गरियो ।बीबीसी


