काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बंगलादेशबीचको द्विपक्षीय र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो भ्रमण कोसेढुंगा साबित हुने बताएकी छन् । दुईदिने राजकीय भ्रमणका लागि सोमबार ढाका प्रस्थान गर्नुअघि उनले राष्ट्रपति कार्यालयको ट्विटर ह्यान्डलमार्फत ट्विट गर्दै यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्म शतवार्षिकीको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुँदै छिन् । उनी बिहान ८:४० बजे नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरेर ५४ जनाको टोलीसहित बंगलादेश प्रस्थान गरेकी हुन् ।
भ्रमण दौरान नेपाल र बंगलादेशबीच चार क्षेत्रका विषयमा दुईपक्षीय सम्झौता हुने सरकारले जनाएको छ । ती विषयमा पर्यटन, संस्कृति आदान–प्रदान, स्यानिटरी र फाइटो स्यानिटरी तथा रोहनपुरदेखि सिंहबादसम्म ‘ट्रान्जिट रुट’ लगायत छन् ।
यस्तो छ दुई दिनको कार्यक्रम
– सोमबार बिहान राष्ट्रपति भण्डारीलाई ढाका विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्ने– विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशका सहिदहरूलाई श्रद्धाञ्जली दिन र माल्यार्पण गर्न जाने
– त्यसपछि होटलमा फर्कने र आराम गर्ने
– होटलमा पहिला बंगलादेशका विदेशमन्त्री शिष्टाचार भेटका लागि आउने
– त्यसपछि प्रधानमन्त्री सेख हसिनाले राष्ट्रपति भण्डारीसँग होटलमै शिष्टाचार भेट गर्ने
– बेलुकी राष्ट्रपति भवन बंगमा राष्ट्रपति हमिदसँग भेटवार्ता
– सोही भेटमा दुई पक्षीय सम्झौताहरू हुने
– त्यसपछि राष्ट्रपति होटलमा फर्कने
– मंगलबार बिहान ढाकास्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रम र दिवाभोजमा सहभागी हुने
– त्यसपछि मंगलबार दिउँसो काठमाडौं आउने
कान्तिपुरबाट साभार