जनकपुर: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले कुनै प्रकारको गल्ती नगरेको र त्यसको कुनै प्रमाण नरहेको स्पष्ट पारेका छन्।
मंगलबार जनकपुरधाममा आयोजित नेकपा (एस) धनुषाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष नेपालले पतञ्जलीसँग सम्बन्धित जग्गा प्रकरणमा आफू कतैबाट पनि संलग्न नरहेको दाबी गरे। उनले भने, “म सधैं सत्य पक्षमा उभिन्छु, न त म डराउँछु, न त लुक्छु। सत्यको विजय अन्ततः अवश्य हुन्छ भन्नेमा म विश्वस्त छु।”
‘गल्ती गरेको भए शिर निहुराउँथें’
पूर्वप्रधानमन्त्री नेपालले आफूले गल्ती गरेको भए निःसंकोच स्वीकार्ने र शिर निहुराउने साहस रहेको बताए। “देश र जनताको सेवा तथा राजनीति र समाजमा व्याप्त विकृति र विसंगतिको अन्त्यका लागि म सदैव समर्पित छु,” उनले भने।
अदालतप्रति विश्वास र वकिलप्रति आभार
अध्यक्ष नेपालले न्यायको पक्षमा उभिएको भन्दै अदालतप्रति विश्वास व्यक्त गरे। साथै, सबै पार्टीका वकिलहरूले आफूलाई साथ दिएकोमा आभार प्रकट गरे। “म सबै अधिवक्ताप्रति धन्यवाद दिन चाहन्छु जसले न्यायको पक्षमा साथ दिनुभयो,” उनले भने।
पतञ्जली जग्गा प्रकरणमा स्पष्टता
नेपालले पतञ्जलीलाई बिक्री गरिएको जग्गा संस्थागत निर्णयअनुसार भएको बताए। उनले भने, “त्यो एउटा योग संस्था हो, जसले सेवा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान दिइरहेको छ। सबै प्रक्रिया कानुनी रूपमा अगाडि बढाइएको हो। मेरो विरुद्ध कुनै कानुनी वा संवैधानिक आधार छैन।”
उनले आफूलाई आधार, प्रमाण वा संवैधानिक तर्कविना आरोप लगाइएको भन्दै आपत्ति जनाए।
कम्युनिष्ट आन्दोलनमा विकृति हटाउन आह्वान
अन्त्यमा, अध्यक्ष नेपालले वर्तमान कम्युनिष्ट आन्दोलनमा देखिएको प्रतिक्रियावादी र पुँजीवादी चिन्तनका कारण पार्टी बदनाम भइरहेको बताए। उनले त्यसलाई चिर्न जनपक्षीय राजनीति गर्न सबैलाई आग्रह गरे।


