काठमाडौं । हिन्दूहरूको महान् पर्व दशैंले देशलाई व्यस्त बनाइरहेका बेला जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरू भने अझै अस्पतालका बेड र घरको ओछ्यानमा पीडासहित दिन बिताइरहेका छन्। राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सिभिल अस्पताल मिनभवनलगायतका अस्पतालमा आन्दोलनका घाइतेहरू उपचाररत छन्।
घाइतेहरूले आफूहरूको बलिदानीबाट बनेको अन्तरिम सरकारले आन्दोलनको म्यान्डेटअनुसार काम नगरेको भन्दै असन्तोष व्यक्त गरेका छन्। आन्दोलनका क्रममा गोली लागेका सिन्धुपाल्चोकका अभिषेक श्रेष्ठले भने, “जेनजी आन्दोलन दमन र शोषणविरुद्ध थियो। तर अहिलेको सरकारले हाम्रो भावना अनुसार काम गरेको छैन। मन्त्रिमण्डलमा जेनजी पुस्ताको अनिवार्य सहभागिता हुनुपर्ने थियो, तर देखिएन।” उनले सरकारले असफल भए आन्दोलन फेरि चर्किने चेतावनी दिए।
दाङका सुरेश पोखरेलले पनि असन्तुष्टि व्यक्त गर्दै भने, “अन्तरिम सरकार हाम्रो रगतमा बनेको हो। तर अहिले पुरानै बाटोमा हिँडेजस्तो देखिन्छ। सहानुभूतिले मात्र परिवर्तन आउँदैन।”
आन्दोलनका घाइतेहरूको उपचारमा संलग्न डा. जगत विकले सरकारप्रति कडा आलोचना गर्दै भने, “सरकारले आँखामा धुलो हाल्ने मात्र काम गरिरहेको छ। यत्रो समयमा जम्मा २० हजार रुपैयाँ राहत दिएको छ, यो अपमानजनक हो।” उनले नेताहरूको उपचारमा करोडौँ खर्च हुने तर आन्दोलनकारीको उपचारमा बेवास्ता गरिएको बताए।
डा. विकले आफूलाई मृतक परिवारले स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको तर केही समूहले धम्की दिएको आरोप पनि लगाए। उनले ‘हामी नेपाल’का अगुवा सुदन गुरुङ र उनको समूहमाथि दबाब र धम्की दिएको आरोप लगाउँदै भने, “यस्ता व्यक्तिहरूले आन्दोलनको भावना र बलिदानीलाई राजनीतिक खेल बनाइरहेका छन्।”
‘जेनजी प्रोटेस्ट मृतक तथा पीडित परिवार संघर्ष समिति नेपाल’ले समेत डा. विकलाई स्वास्थ्य मन्त्री बनाउन प्रस्ताव गरेको छ। समितिका संयोजक कमल सुवेदीले यसबारे निरन्तर दबाब दिँदै आएका छन्।


