Sunday, May 10, 2026
Homeसामाचारम्याग्दीमा ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दीमा ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं–४ बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। सङ्घीय सरकारअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो पुल निर्माण थालेको हो।

डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस संयुक्त उपक्रमले निर्माण कार्यलाई तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए। उक्त पुल निर्माणका लागि एक करोड ६४ लाख १५ हजार २५४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। १८ महिनाको ठेक्का अवधि रहे पनि चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले बताए।

हाल काउसीबोटतर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ भने बाँसबोटतर्फ जग खनेर आधार तयार पारिएको छ। संरचना तयार भएपछि लठ्ठा तानेर फलामे डेक जडान गरिने जनाइएको छ।

पुल निर्माण सम्पन्न भएपछि हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम र काफलडाँडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। स्थानीयवासी राजकुमार कोइरालाका अनुसार पुल बनेपछि एक घण्टाको यात्रा पाँच मिनेटमै सीमित हुनेछ र क्षेत्रलाई पर्यटकीय सम्भावनासँग पनि जोड्ने अपेक्षा गरिएको छ।

बाँसबोट क्षेत्रका किसानले उत्पादन गर्ने केरा लगायत कृषिउपजको बजारीकरणमा समेत सहजता आउने बताइएको छ।

धवलागिरि गाउँपालिकामा यसअघि पनि दुई वटा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। वडा नं–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर तथा वडा नं–३ फलियागाउँ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो पुल निर्माण सम्पन्न भइसकेको छ।

हाल म्याग्दी जिल्लामा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या छ वटा पुगेको छ। रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर तथा अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने २४४ मिटर लामो पुल निर्माण भइसकेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका