म्याग्दी, ७ भदौ – म्याग्दीमा अरिङ्गालको परिकार पाहुनाको विशेष आकर्षण बनेको छ। होटल तथा रेष्टुरेन्टहरूले बढ्दो माग धान्नै मुस्किल भइरहेको बताएका छन्।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाका अनुसार बर्खायाममा बेनी आउँदा पाहुनाले पहिलो रोजाइमै अरिङ्गाल अर्डर गर्ने गरेका छन्। “स्थानीय मात्र नभई छिमेकी जिल्लाबाट पनि अरिङ्गालको स्वाद लिन पाहुना आउने गरेका छन्,” उनले भने।
बेनीका होटलमा दैनिक १०–२० प्लेटसम्म अरिङ्गाल बिक्री हुन्छ। प्रतिप्लेट मूल्य रु ६०० देखि ७५० सम्म पर्छ। उपभोक्ताका अनुसार फ्राई गरिएको अरिङ्गालको लार्भा स्वादिलो मात्र नभई शक्तिवर्द्धक पनि हुन्छ।
खबरासहित आसपासका गाउँका युवाले रुख चढेर अरिङ्गालको गोला निकालेर बेनी ल्याउने गरेका छन्। गोलासहितको एक किलो अरिङ्गाल रु ३,००० देखि ३,५०० सम्म पर्छ। शिकारीले एक याममा लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेको बताइन्छ।
व्यावसायिक रूपमा अरिङ्गालपालन गर्ने अशोक र गीता पाइजा शाही दम्पतीले माग धान्नै नसकेको बताए। उनीहरूले गत वर्ष ३० किलो लार्भा उत्पादन गरेका थिए भने यस वर्ष २५ गोला पालेर एक क्विन्टलभन्दा बढी उत्पादन गर्ने लक्ष्य राखेका छन्।
एक गोलाबाट एकपटकमा आठ किलोसम्म लार्भा निकाल्न सकिन्छ, र दुई–दुई महिनामा पुनः लार्भा संकलन गर्न सकिन्छ। जेठदेखि सुरु हुने उत्पादन कात्तिकसम्म बजारमा बिक्ने गर्दछ।
तर, अरिङ्गाल शिकार र पालन जोखिमपूर्ण पनि हुन्छ। रुखको टुप्पो वा भिरमा गोला निकाल्दा अरिङ्गालको टोकाइले ज्यानै जाने खतरा रहन्छ। आगोले पोलेर शिकार गर्दा अरिङ्गाल मासिने, रुख चढ्दा लड्ने जस्ता जोखिम पनि उत्तिकै हुन्छ। बजारमा उपलब्ध विशेष पोशाक प्रयोगले भने केही हदसम्म सुरक्षा हुने गरेको छ।


