Sunday, November 8, 2026
Homeसामाचारम्याग्दीको कालीगण्डकीमा पहिलो जलविद्युत् आयोजना निर्माण सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

म्याग्दीको कालीगण्डकीमा पहिलो जलविद्युत् आयोजना निर्माण सुरु, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

म्याग्दी, १९ साउन — म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट बग्ने कालीगण्डकी नदीमा पहिलो पटक जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ। हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो।

सिभिल निर्माणका लागि रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२, नागढुङ्गामा चार हजार ३१९ मिटर लामो सुरुङ निर्माण गर्न विस्फोटक पदार्थको प्रयोग गर्दै गत साता काम सुरु गरिसकेको छ। सुरुङको अडिट दुरी ४५९ मिटर रहेको छ भने बाँधतर्फको सुरुङ खन्ने कार्य यसै साउन महिनाभित्र र आउटलेटतर्फको सुरुङ हिउँदमा सुरु गर्ने योजना छ।

आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध निर्माण गरिनेछ। उक्त बाँधबाट पानी १५१ मिटरको उचाइबाट खसालेर अन्नपूर्ण–२, नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा प्रवाह गरिनेछ। रन अफ रिभर प्रकारको यो आयोजनाको विद्युत्गृह, कन्ट्रोल रूम तथा स्विचयार्ड सबै भूमिगत संरचना हुनेछ।

रसुवा–मल्टी जेभीले सुरुङ निर्माणका लागि अत्याधुनिक ‘बुमर रोबोटिक सटकिट’ लगायत प्रविधि ल्याइसकेको छ। उत्पादन हुने विद्युत् नौनीबगरदेखि झन्डै सात किलोमिटर माथि दानास्थित २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। कुल लागत अनुमानित रु १२ अर्ब ९३ करोड रहेको यस आयोजनामा नविल बैंक लिमिटेडको नेतृत्वमा छ वाणिज्य बैंकले ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत प्रवद्र्धक तथा शेयर लगानीकर्ताबाट जुटाइनेछ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार हिउँदयाममा प्रति युनिट रु ८.४० र वर्षायाममा रु ४.८० मूल्यमा विद्युत् बिक्री हुनेछ। हिउँदमा १३० गिगावाट घण्टा विद्युत् उत्पादनबाट रु १ अर्ब ९ करोड र वर्षायाममा २७७ गिगावाट घण्टा विद्युत् उत्पादनबाट रु १ अर्ब ३३ करोड आम्दानी हुने अनुमान गरिएको छ।

कालीगण्डकी नदी बेसिनमा हालसम्म ३०० मेगावाटभन्दा बढी क्षमताका तीन जलविद्युत् आयोजना निर्माणको स्वीकृति पाएका छन्। तीमध्ये ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाटको कालीगण्डकी गर्ज आयोजनाले पनि तयारी अगाडि बढाइरहेका छन्, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका