काठमाडौँ – देशको पश्चिमी भू–भागमा आज र भोलि वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने भएकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम स्तरसम्मको हिमपात हुने सम्भावना पनि रहेको विभागको पूर्वानुमान छ।
काठमाडौंबाट पूर्वका भू–भागमा भने यस प्रणालीको प्रभाव नपर्ने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ।
यसअघि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरब सागरको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले कात्तिक १३ गतेदेखि १५ गते (गएको बिहीबारदेखि शनिबारसम्म) देशका धेरै स्थानमा वर्षा भएको थियो। त्यसयता देशभर मौसम पूर्ण रूपमा सफा भइसकेको छैन।


