विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ।
कोशी प्रदेशका १४ जिल्लामा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता र जिम्मेवारीपूर्ण सेवाका आधारमा न्यौपाने उक्त सम्मानका लागि छनोट भएका हुन्।
कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह गरेको मूल्यांकनपछि उनलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।
मोरङ ट्राफिक प्रहरीको नेतृत्व सम्हाल्दै आएका न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, लागू पदार्थ तथा मादक पदार्थ सेवन परीक्षण अभियान सञ्चालन गर्नुका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध प्रभावकारी कारबाही गरेका थिए।
उनकै नेतृत्वमा सिटी सफारीलाई सुरक्षित, अनुशासित र व्यवस्थित बनाउन ‘सुरक्षित चालक अभियान’ सञ्चालन गरिएको थियो। साथै सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमा प्रतिक्षालय निर्माण, ट्राफिक तथा पार्किङ व्यवस्थापन सुधारका लागि ह्विल लक, चेन लक, ‘नो पार्किङ’ बोर्ड, ट्राफिक कोन, ब्यारेकेड तथा रिफ्लेक्टिभ ज्याकेटको प्रयोग विस्तार गरिएको थियो।
प्रहरीका अनुसार न्यौपानेले समुदायस्तरमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका छन्। साथै ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त ट्राफिक लाइट र सोलार वार्निङ लाइट पुनःस्थापना गरी सवारी आवागमनलाई सहज बनाउन उल्लेखनीय भूमिका खेलेका थिए।
सडक सुरक्षा प्रवर्द्धन, ट्राफिक व्यवस्थापन सुधार, दुर्घटना न्यूनीकरण तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई जेठ महिनाको कोशी प्रदेशस्तरीय सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ।


