Sunday, July 5, 2026
Homeसामाचारमैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

मैझारो सिली प्रदर्शन गर्दै साकेला उभौलीलाई बिदा गरियो

खोटाङ:शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलस्थित माटीकोरे खेलमैदान साकेला सिलीको उत्सवले गुञ्जायमान बन्यो। टन्टलापुर घामबीच ढोल, झ्याम्टा र साकेला गीतको तालमा सयौँ सहभागीहरूले साकेला सिली नाचेका थिए। किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकादेखि बृद्धबृद्धासम्म रमाइरहेका देखिन्थे।

खोटाङका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ टोलीले साकेला सिली प्रदर्शन गरे। करिब ३० डिग्री सेल्सियसको गर्मीको प्रवाह नगरी नाच्नेहरूको अनुहारमा विशेष हर्ष झल्किएको थियो। किराती समुदायको उभौली चाड यसै अवसरमा औपचारिक रूपमा समापन गरिएको हो। साकेला सिली मात्र किरात समुदायको चाड नभई जातीय सहिष्णुता र भाइचाराको प्रतीकका रूपमा विकसित हुँदै गएको छ।

किरात सेवा समाजका अध्यक्ष ध्यानबहादुर राईका अनुसार, उभौली चाडको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा, जन्तेढुङ्गालगायतका ऐतिहासिक स्थलहरूमा एक महिनासम्म प्रकृतिको पूजा र साकेला सिली प्रदर्शन गरिँदै आएको छ। उभौली चाड जलचर र थलचर जीवजन्तु उँभो लाग्ने समयसँग सम्बन्धित छ। यस अवसरमा खेतीपाती राम्रो होस्, प्राकृतिक विपत्तिबाट जोगिऊँ भन्ने कामनासहित प्रकृतिको पूजा गरिन्छ।

समापन समारोहमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा जनप्रतिनिधि, सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरू, र जातीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। उनीहरूले समेत सामूहिक रूपमा साकेला सिलीमा सहभागी भएर एकताको सन्देश दिएका थिए।

किरात राई यायोक्खाका अध्यक्ष युगशन किरातले साकेला चाडलाई सबै जातजाति र धर्मका मानिसहरूलाई जोड्ने साझा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्नुभयो। “साकेला किरात समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा चाड बन्ने दिशामा अघि बढिरहेको छ,” उहाँले भन्नुभयो, “यसले पराइघर गएका छोरीचेली र आफन्तलाई भेट्ने, दुःख–सुख साटासाट गर्ने अवसर पनि प्रदान गर्छ।”

कार्यक्रममा किरात समुदायका महिला, पुरुष र युवायुवतीहरू छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, ढाका टोपी र दौरासुरुवालमा सजिएर सहभागी थिए। चराचुरुङ्गी र वन्यजन्तुको हाउभाउ नक्कल गर्दै नाचिने साकेला सिलीमा सुम्निमा र पारुहाङसँग सृष्टि र जीवन रक्षा गरुन् भन्ने कामना गरिन्छ।

साकेला उभौली र उधौलीलाई किरात समुदायले वर्षमा दुईपटक—वैशाखे पूर्णिमा (उभौली) र मङ्सिरे पूर्णिमा (उधौली)—धार्मिक र सांस्कृतिक महत्वका साथ मनाउँदै आएका छन्। राई, लिम्बू, याक्खा र सुनुवार समुदायले यो पर्वलाई विशेष चाडका रूपमा मनाउने गर्छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका