Sunday, November 8, 2026
Homeसामाचारमेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग

मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग

तेह्रथुम, २१ असोज — अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा फिदिम–म्याङ्लुङ–धनकुटा–धरान रुट सञ्चालनमा आएको छ।

ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रका यात्रुले पूर्वी तराई झर्न प्रयोग गर्ने यी दुबै प्रमुख मार्गका एक दर्जनभन्दा बढी स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरूले लामो दूरीको वैकल्पिक मार्ग अपनाउनुपरेको हो। यस क्रममा उनीहरूले दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन्।

पाँचथर सदरमुकाम फिदिमबाट मध्यपहाडी लोकमार्ग हुँदै तेह्रथुमको म्याङ्लुङ पुग्दा मेची राजमार्गमार्फत झापा बिर्तामोड पुग्न सकिन्छ भने तमोर करिडोर प्रयोग गरेर धरान पुगिन्छ। यी दुबै मार्ग बन्द हुँदा वैकल्पिक फिदिम–म्याङ्लुङ–धनकुटा–धरान रुट अहिले मुख्य विकल्प बनेको छ।

सोमबार दिउँसो म्याङ्लुङ बसपार्कमा भेटिएकी काठमाडौँकी कमला पाठकले आफू वैकल्पिक मार्ग हुँदै म्याङ्लुङ आइपुगेको बताइन्। उनले अब म्याङ्लुङबाट बसन्तपुर–हिले–धनकुटा हुँदै धरानमार्गे काठमाडौँ फर्किने योजना रहेको बताइन्।

त्यस्तै, पाँचथर याङवरकका राजकुमार सेलिङले पनि वैकल्पिक रुट प्रयोग गरेर झापाको बिर्तामोडतर्फ यात्रा गरेको जानकारी दिए। उनका अनुसार पाथीभरा देवीको दर्शन सकेर फर्किने तीर्थयात्री, उपचारका लागि तराई झर्ने सेवाग्राही तथा विशेष कामले पूर्वी तराई र राजधानी फर्किनेका लागि वैकल्पिक मार्गले सहजता दिएको छ।

म्याङ्लुङस्थित तेह्रथुम यातायात प्रालिका इञ्चार्ज मङ्गल बेघाका अनुसार ताप्लेजुङ र फिदिमबाट झापा, मोरङ र सुनसरी जाने अधिकांश सवारीसाधन अहिले म्याङ्लुङ हुँदै आवतजावत गरिरहेका छन्। जिल्लाप्रहरी कार्यालय तेह्रथुमका अनुसार सोमबार मात्रै सो मार्ग हुँदै करिब २०० सवारीसाधन गुज्रिएका छन्।

तेह्रथुमको आठराई गाउँपालिकाको माझीटारदेखि लालिगुँरास नगरपालिकाको चित्रेसम्मको १२० किलोमिटर सडकमध्ये २४ किलोमिटरबाहेक सबै पक्की छ। फेदाप गाउँपालिका–२ ओयाक्जुङदेखि वडा नं ५ इसिबुसम्मको १४ किलोमिटर र फेदाप–२ स्थित खोरङ्वा–यावरा १० किलोमिटर सडक भने कच्ची छन्।

सवारीसाधनको चाप बढेपछि यात्रु सहजताका लागि फेदाप गाउँपालिकाले आइतबार कच्ची सडकको मर्मतसम्भार गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले तेह्रथुम–धनकुटा–धरान खण्डमा सवारी आवागमन सुरक्षित र सहज रूपमा भइरहेको छ।

यसबीच, पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने दु्रतमार्ग तमोर करिडोर सडक विभिन्न स्थानमा अवरुद्ध छ। ताप्लेजुङ र पाँचथर हुँदै झापा जोड्ने मेची राजमार्ग पनि इलाम, माइखोला र अन्य स्थानमा पहिरोका कारण बन्द भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका