फिक्कल (इलाम), २७ असोज – गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध भएको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू–संरचनाका कारण सडक खुलाउन कठिनाइ भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो।
उहाँका अनुसार सडक खुलाउने प्रयास निरन्तर जारी रहे पनि लगातारको भूस्खलन र सडक भासिने समस्या प्रमुख चुनौती बनेको हो। “हामी लगातार प्रयासरत छौँ, तर भू–संरचनाको जटिलताका कारण तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन,” प्रजिअ नेपालले बताउनुभयो।
सडक अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमन विगत नौ दिनदेखि प्रभावित भएका छन्। यसबीच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिनुभयो।
हाल आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल रुटमा साना सवारी सञ्चालनमा ल्याइएको छ भने सोमबारदेखि तिल्केनी–सिमलगो सडकमार्ग हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।
“तिल्केनी–सिमलगो सडकखण्डअन्तर्गत जोगमाई खोलामा ह्युमपाइप राखी डाइभर्सन निर्माण कार्य आइतबारदेखि सुरु गरिएको छ,” उहाँले भन्नुभयो, “सम्भवत सोमबारदेखि सो मार्ग हुँदै साना सवारी सञ्चालनमा आउनेछन्।”
तर ठूला तथा मालवाहक सवारीका लागि हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालको भनाइ छ। तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगो सडकमार्गमा तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ हुने अवस्था रहेको उहाँले बताउनुभयो।
सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनर्निर्माण कार्य हालका लागि स्थगन गरेको छ। भू–संरचनात्मक समस्याका कारण तत्काल वैकल्पिक मार्गमा स्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली खण्डको पुनर्निर्माण रोकिएको कार्यालयका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताउनुभयो।
“राजदुवाली खण्ड खुलाउने प्रयासमा थियौँ, तर सफल हुन सकेनौँ,” घिमिरेले भन्नुभयो, “अहिले वैकल्पिक मार्गमा स्रोतसाधन र जनशक्ति केन्द्रित गरेका छौँ। त्यो सम्पन्न भएपछि पुनः राजदुवाली खण्डको पुनर्निर्माणमा लाग्नेछौँ।”
पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण
इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन्। इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरूले वैकल्पिक रूपमा मोटरेबल काठको पुल तयार गरेका हुन्।
स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र आठ फिट चौडाइको काठको पुल पाँच दिनको श्रमदानमार्फत निर्माण गरिएको हो।
बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँगको सडक सम्पर्क विच्छेद भएपछि तत्काल आवागमन सहज बनाउन स्थानीयले काठको पुल निर्माण गरेको अभियानका नेतृत्वकर्ता राईले बताउनुभयो।


