मुस्ताङ । मुस्ताङ जिल्ला प्रशासन कार्यालयले खराब मौसमका कारण यहाँका उच्च हिमाली पदमार्गहरूमा पदयात्रा नगर्न आग्रह गरेको छ। जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने जानकारी दिएपछि प्रशासनले आज सूचना जारी गर्दै पर्यटक र तीर्थयात्रीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
जिल्लाका उच्च हिमाली क्षेत्रहरू — मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, छ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायत क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस कारण यस्ता पदमार्गहरूमा हाललाई यात्रा स्थगित गर्न तथा अरूलाई पनि नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।
सूचना अनुसार जिल्लाका अन्य भागमा पनि बुधबारसम्म हिमपात र वर्षा हुने सम्भावना रहेकाले पदयात्री र पर्यटकले मौसम पूर्वानुमानबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमबाट बच्न सतर्क रहन प्रशासनले आग्रह गरेको छ।


