मुस्ताङ: सन् २०२५ को जनवरीदेखि अप्रिल अन्तिमसम्म मुस्ताङमा ५१ हजार ८९६ विदेशी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार यो अवधिमा विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपले वृद्धि भएको हो।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार, पछिल्लो समय मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रूपमा बढिरहेको छ। सन् २०२५ को चार महिनामा कुल आगमनमध्ये ४३ हजार १५१ पर्यटक सार्क राष्ट्रबाट र बाँकी आठ हजार ७४५ अन्य राष्ट्रबाट आएका थिए। अर्थात् कुल आगमनको ८३ प्रतिशत सार्क मुलुक र १७ प्रतिशत अन्य मुलुकका पर्यटक रहेका छन्।
महिनावार विवरण अनुसार, जनवरीमा ४,३४६, फेब्रुअरीमा ५,३३०, मार्चमा १९,०९५ र अप्रिलमा २३,१५२ जना विदेशी पर्यटक मुस्ताङ पुगेका थिए। सन् २०२४ को सोही अवधिको तुलनामा यस वर्ष ३६.६६ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको हो। गत वर्षको पहिलो चार महिनामा ३७,९७४ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने यो वर्षको सोही अवधिमा ५१,८९६ पुगेका छन्।
मुस्ताङको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक सभ्यता हेर्न ठूलो संख्यामा पर्यटक आकर्षित भइरहेका छन्। मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङका अनुसार हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर हेर्न विशेषगरी भारतीय पर्यटकको संख्या धेरै रहेको छ।
पर्यटन गन्तव्यका रूपमा मुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै उपल्लो मुस्ताङ क्षेत्रका कोरला नाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक, लोघेकर, चराङ, लुरी गुम्बा, दामोदर कुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताल जस्ता ठाउँहरू प्रमुख आकर्षण हुन्। ती स्थानहरूले गर्दा मुस्ताङ हाल आन्तरिक र बाह्य दुबै पर्यटकका लागि लोकप्रिय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।