Saturday, November 7, 2026
Homeसामाचारमुग्लिन–पोखरा सडक स्तरोन्नतिमा दैनिक ६०० जनालाई रोजगारी

मुग्लिन–पोखरा सडक स्तरोन्नतिमा दैनिक ६०० जनालाई रोजगारी

तनहुँ । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) अन्तर्गत भइरहेको सडक स्तरोन्नतिले दैनिक ६०० भन्दा बढी मजदुरलाई रोजगारी उपलब्ध गराइरहेको छ। तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको ३८.८८ किमि खण्डमा सडक तथा पुल निर्माण, कल्भर्ट निर्माणलगायत काम तीव्र गतिमा भइरहेको छ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार पश्चिम खण्डमा दैनिक ६०० जनाको दरले मासिक करिब १८ हजार मजदुरले रोजगारी पाउने स्थिति बनेको छ। यसबाहेक २० जना प्राविधिक परामर्शदाताले योजना अघि बढाउन सहयोग गरिरहेका छन्।

उक्त खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति र ४७.८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। ३८.८८ किमि दूरीमध्ये ३७.४ किमि सडकमा एकतर्फी पहिलो तहको कालोपत्र गरीसकिएको छ। जसमा २९.६१ किमि चार लेन तथा ७.७९ किमि दुई लेन सडकले कालोपत्र प्राप्त गरेका छन्।

आयोजनाअन्तर्गत निर्माण भइरहेका १२ पुलमध्ये ११ पुल पूरा भइसकेका छन् भने सेती नदीको पुलमा काम जारी छ। सो पुलमा ४७.५२ प्रतिशत भौतिक तथा ४७.९ प्रतिशत वित्तीय प्रगति भएको छ। हालसम्म चार पाइल क्याप तथा १२० वटा पाइल निर्माण सम्पन्न भएको छ।

गत आर्थिक वर्षमा २५ किमि चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकोमा २३.०६ किमि कालोपत्र सम्पन्न भएको छ। ११ पुल निर्माण गर्ने लक्ष्य पूरा भइसकेको छ।

६६ कल्भर्टमध्ये ६५ वटा पूरा भएका छन् भने ५१.५ किमि नाला निर्माण लक्ष्य राखिएकोमा ४५.२ किमि निर्माण भइसकेको छ। विसं २०७८ जेठ ३ मा सम्झौता भएको यस खण्डको कामको म्याद आगामी पुस १६ गतेसम्म रहेको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका