Tuesday, September 15, 2026
Homeराजनीतिमुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग

मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले हालका शीर्ष नेताहरूलाई ‘जेन जि’ आन्दोलनको मागअनुसार छिटो बिदा दिनुपर्ने बताएका छन्।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले पुराना नेताहरूलाई विदा गरेर दलभित्र र समाजमा नयाँ आशा र विश्वास जगाउने आवश्यकता औंल्याए। साथै, संविधान जारी भएपछिको राजनीतिक अभ्यासबारे स्वेतपत्र ल्याउनुपर्ने, सार्वजनिक पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने र स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने पनि उनको भनाइ थियो।

उनले वामपन्थी दलहरूमा विचार, राजनीति, संगठन र मुद्दाहरूमा भएको भ्रष्टीकरणलाई स्वीकार गर्दै ती सबै क्षेत्रमा पुनः वामपन्थीकरण गर्नुपर्ने आवश्यकता औंल्याए। पुनर्गठित वामपन्थी पार्टीहरूलाई व्यापक ध्रुवीकरण र एकतामा लैजानुपर्नेमा पनि उनले जोड दिए।

भुषालले आगामी दस वर्षमा सबै काम गर्ने उमेरका नेपालीलाई रोजगारी उपलब्ध गराउने, भ्रष्टाचारमुक्त सुशासनयुक्त राज्य निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए। साथै, लोकतान्त्रिक स्थिरतासहित नेपालको समृद्धिको पक्षमा अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिनुपर्नेमा पनि उनले जोड दिए।

उनले भने, “नेताहरूले आफ्ना पद र नियन्त्रण बचाउन बहाना बनाए पनि समाजले अस्वीकार गरेको नेतृत्वका आधारमा पार्टीहरू जनतामा जान सक्दैनन्। संविधान संशोधनको माग, परम्परागत राष्ट्रवादका नाममा हुने सङ्गठन प्रयास र सडकमा देखिन सक्ने पपुलिस्ट आन्दोलनलाई रोक्न वामपन्थी आन्दोलनका इमान्दार राजनीतिकर्मीहरू तत्काल सक्रिय हुनुपर्छ।”

भुषालका अनुसार, देशमा उत्पन्न हुन सक्ने त्रासदीपूर्ण सम्भावनालाई रोक्न सबै इमान्दार वामपन्थी कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका