काठमाडौँ । नव–नियुक्त मुख्यसचिव सुमनराज अर्यालले देशको वर्तमान संवेदनशील परिस्थितिमा निजामती सेवाले आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सुशासन, विकास र जनमुखी सेवा प्रवाहलाई अब ढिलाइ गर्न नहुने बताए।
अर्यालले जेन–जी आन्दोलनमा ज्यान गुमाएका नागरिक र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शान्ति, स्थिरता र सद्भाव कायम राख्न सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गरे।
उनले वरिष्ठता र कार्यकुशलताको आधारमा मुख्यसचिवमा नियुक्ति भएको पहिलो उदाहरणले सम्पूर्ण निजामती सेवाको मनोबल बढाएको बताए। पूर्व मुख्यसचिव एकनारायण अर्यालको नेतृत्व र योगदानको सराहना गर्दै उनले राष्ट्रसेवकले चुनौतीपूर्ण परिस्थितिमा निष्ठापूर्वक काम गर्न सक्ने विश्वास व्यक्त गरे।
मुख्यसचिव अर्यालले अहिलेको प्रमुख चुनौती जनतामा कमजोर हुँदै गएको सरकारी छवि भएको बताए।
उनका अनुसार ढिलासुस्ती, व्यक्तिगत स्वार्थ, र राजनीतिक गुटगत प्रभावले सेवा प्रवाहमा विश्वासको संकट उत्पन्न भएको छ।
“हामी जनताको सेवक हौं। सरकारका नीति–कार्यक्रमलाई इमान्दारीपूर्वक लागू गर्नु हाम्रो धर्म हो,” उनले भने।
अर्यालले राजनीतिक आस्था वा शक्ति केन्द्रको आधारमा हुने सरुवा–बढुवाले निजामती सेवामा निष्पक्षता र तटस्थता कमजोर बनाएको टिप्पणी गरे।
उनले प्रशासनिक नेतृत्वमा बसेकाले नै पहिले सुधारको पहल गर्नुपर्ने बताउँदै भने, “मुहान सफा भयो भने तलका खोलानाला पनि सफा हुन्छन्।”
संविधानले तोकेको स्वच्छ, सक्षम, पारदर्शी र जनउत्तरदायी प्रशासन निर्माणमा सबै राष्ट्रसेवकले आफ्नो भूमिका देखाउनुपर्ने उनले बताए।
संघीय कार्यान्वयन, तीन तहका सरकारबीच समन्वय, प्रविधिमैत्री सेवा, र गुणस्तरीय विकासलाई उनले प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे।
जेन–जी पुस्ताको आकांक्षा—अच्छा शासन, पारदर्शी प्रणाली र स्वदेशमै रोजगारी—पूरा गर्न प्रशासनले सोच, व्यवहार र कार्यशैलीमा तत्काल परिवर्तन गर्नुपर्ने उनको निष्कर्ष थियो।


