Thursday, June 25, 2026
Homeसामाचारमुख्यमन्त्री सिंहद्वारा जनकपुरका निजी अस्पतालहरूको अनुगमन, चार अस्पताल बन्द

मुख्यमन्त्री सिंहद्वारा जनकपुरका निजी अस्पतालहरूको अनुगमन, चार अस्पताल बन्द

9851098921.

जनकपुर: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित निजी अस्पतालहरूको अनुगमनलाई आइतबार पनि निरन्तरता दिनुभएको छ। प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, मन्त्रालयका अधिकारीहरू तथा अनुगमन टोलीसहित उहाँले नौवटा अस्पतालको निरीक्षण गर्नुभएको हो।

मुख्यमन्त्री सिंहको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि, नवजीवन हस्पिटल, वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यान को अनुगमन गरेको छ।

अनुगमनका क्रममा जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्ण हस्पिटल प्रालि बन्द गरिएका छन्। ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरलाई फोहरमैला व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ।

दर्ता प्रक्रिया पूरा नगरेको गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्रसहित सोमबार बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

त्यस्तै, नवजीवन हस्पिटलले चार वर्षदेखि र वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नगराएकाले दुवै अस्पतालका सञ्चालकहरूलाई सोमबार कागजपत्रसहित उपस्थित हुन भनिएको छ। एडभान्स सिटी स्क्यानले पनि दुई वर्ष छ महिनादेखि नवीकरण नगराएकाले सोही निर्देशन दिइएको छ।

यसैबीच, जनकपुर मोडल हस्पिटल बन्द गरिए पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्का गरिएको छ। त्यसैले, अस्पतालका सञ्चालकलाई शनिबार र आइतबारका सिसीटिभी फुटेजसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो।

मुख्यमन्त्री सिंहले अनुगमनलाई निरन्तरता दिने र स्वास्थ्य सेवा सुधारका लागि कडाइ गरिने बताउनुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका