Friday, July 17, 2026
Homeमनोरन्जनमास्टर्नी’को गीत विवाद: प्रकाश सायमीको कटाक्ष– ‘यो कला होइन, बजारमुखी भद्दापन’

मास्टर्नी’को गीत विवाद: प्रकाश सायमीको कटाक्ष– ‘यो कला होइन, बजारमुखी भद्दापन’

काठमाडौँ । अभिनेत्री प्रियंका कार्की अभिनीत आगामी चलचित्र ‘मास्टर्नी’ को एक गीतका शब्दलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विवाद चुलिइरहेका बेला वरिष्ठ लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमीले कडा प्रतिक्रिया दिएका छन्।

सायमीले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विवादित गीतका शब्दप्रति आफूलाई व्यक्तिगत गुनासो नभएको उल्लेख गरेका छन्। उनले प्रियंकाको परिवारका सदस्यहरूले उक्त प्रस्तुतिलाई स्वीकार गरिसकेकाले बाहिरका मानिसले पनि त्यसलाई स्वीकार गर्नुपर्ने भन्ने तर्क व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन्।

प्रसिद्ध जर्मन नाटककार बर्टोल्ट ब्रेख्तको भनाइ उद्धृत गर्दै सायमीले यस्तो प्रस्तुतिलाई कला नभई ‘रद्दी व्यवसायको भद्दा कला’ को संज्ञा दिएका छन्। उनका अनुसार यस्ता सामग्रीले बजारमा चर्चा त पाउँछन्, तर कलाको स्तर भने उकास्न सक्दैनन्।

सायमीले यस्ता प्रवृत्तिबाट जीवन निर्वाह गर्न बाध्य कलाकारप्रति सहानुभूति व्यक्त गर्दै गीतका शब्द शब्दकोशमा भए पनि तिनले दिने सन्देश र समाजमा पार्ने प्रभाव महत्त्वपूर्ण हुने बताएका छन्।

उनले यस्तो शैलीको तुलना भारतीय चलचित्रका दिवंगत अभिनेता तथा निर्माता दादा कोण्डकेसँग गरेका छन्। कोण्डकेले आफ्नो समयमा द्विअर्थी (डबल मिनिङ) शब्द प्रयोग गरेर चलचित्र र गीत निर्माण गर्ने गरेको स्मरण गर्दै सायमीले त्यसबाट समाजमा भ्रम सिर्जना हुने गरेको टिप्पणी गरेका छन्।

सायमीका अनुसार यस्ता प्रस्तुतिका सर्जकहरूले दर्शककै सोचलाई दोष लगाएर व्यावसायिक लाभ उठाउने प्रयास गर्छन्। उनले दादा कोण्डकेको उदाहरण दिँदै केवल आर्थिक सफलताभन्दा पनि दीर्घकालीन सम्मान र कलात्मक योगदान बढी महत्त्वपूर्ण हुने धारणा व्यक्त गरेका छन्।

https://www.facebook.com/share/p/1D4vhSEksT/

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका