राँझा, बाँके: मानव बेचबिखनविरुद्ध सक्रिय संस्था शान्ति पुनःस्थापना गृह बाँकेले चालु आर्थिक वर्ष ०८०/८१ मा जोखिममा परेका २९८ जनालाई सीमा क्षेत्रबाट उद्धार गरेको छ।
यस संस्थाले नेपालगञ्जको मुख्य नाका जमुनाहसहित जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाका ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ।
उद्धार गरिएकामध्ये पाँच जनालाई भारतबाट फिर्ता गरिएको हो। त्यसमध्ये २५२ जनालाई अभिभावकको जिम्मा लगाइएको छ भने ४२ जनालाई प्रहरीको रोहवरमा परिवारलाई हस्तान्तरण गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो।
सुवेदीका अनुसार, संस्थाले गत आर्थिक वर्षमा बेचबिखनको जोखिममा रहेका ९,८९६ महिला र बालबालिकालाई परामर्श दिएको छ। यस अवधिमा शान्ति पुनःस्थापना गृहले मानव बेचबिखनका अभियोगमा तीनवटा मुद्दा पनि दर्ता गरेको छ।
“बाँकेको मुख्य नाका जमुनाहमा मानव बेचबिखनविरुद्ध धेरै संस्थाले परामर्श दिने भएकाले दलालहरूले ग्रामीण क्षेत्रका नाकाहरू प्रयोग गर्ने गरेका छन्,” सुवेदीले भन्नुभयो, “नयाँ-नयाँ तरिकाले मानव बेचबिखनको प्रयास भइरहेको छ। तथ्याङ्कले १८ देखि २५ वर्ष उमेर समूह सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ।”
शान्ति पुनःस्थापना गृहका केन्द्रीय उद्धार संयोजक भूमि भट्टराईले मानव बेचबिखन र ओसारपसार न्यूनीकरण तथा निरुत्साहित गर्न ग्रामीण नाकाहरूमा पनि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।


