Sunday, November 8, 2026
Homeसामाचारमाधव नेपालको थुनछेक बहस सकियो

माधव नेपालको थुनछेक बहस सकियो

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ।

विशेष अदालतमा आज उपस्थित भएर बयान दिएका नेपालका पक्षमा थुनछेक सम्बन्धी बहस टुंगिएको हो। बहस सकिएसँगै आजै आदेश आउने विशेष अदालतको इजलासले जनाएको छ।

थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, र विशेष सरकारी वकिलहरू भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए।

उनीहरूले मन्त्रिपरिषद्ले २०६६ पुस २२ गते गरेको निर्णयलाई पुस २९ गते उल्टाएर पतञ्जलीको व्यापार योजनालाई लाभ हुने गरी निर्णय गरिएको भन्दै उक्त निर्णय नीतिगत हुन नसक्ने तर्क प्रस्तुत गरेका थिए। त्यस आधारमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध कारबाही अगाडि बढाउनुपर्ने माग गरिएको हो।

नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्दप्रसाद बन्दी, खम्बबहादुर खाती, रमन श्रेष्ठ, दिनेश त्रिपाठी, टीकाराम भट्टराईलगायतले बचाउ गरेका थिए।

उनीहरूले संविधानको धारा ८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ४ (ख) अनुसार अख्तियारले आफ्नो अधिकार क्षेत्र नाघेको दाबी गर्दै मुद्दा नै खारेज गर्नुपर्ने तर्क प्रस्तुत गरेका थिए। साथै, मन्त्रिपरिषद्को कार्यसम्पादनसम्बन्धी ऐनको समेत बेवास्ता गर्दै अख्तियारले मुद्दा दायर गरेको भन्दै आपत्ति जनाएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका