म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्माण भइरहेको २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ।
तीन वर्षअघि निर्माण सुरु भएको यस आयोजनाको भौतिक प्रगति ९० प्रतिशत नाघेको हो। ठूलोखोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा बाँध, विद्युत्गृह र पाइपलाइन जडान कार्य सम्पन्न भइसकेको छ। आयोजनाका प्रमुख लोकबहादुर नायकका अनुसार विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा छ।
उहाँले भन्नुभयो, “परीक्षण उत्पादन आगामी २०८२ सालको वैशाखसम्म सुरु गर्ने लक्ष्य थियो, तर बेनी–आयोजना स्थल जोड्ने सडक स्तरोन्नतिको कारण ढुवानीमा अवरोध आउँदा केही ढिलाइ भएको छ।”
आयोजनाको पूर्वाधार विवरण यस्तो छ:
सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी), २,९०० मिटर लामो मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान।
फेदीमा विद्युत्गृह निर्माण सम्पन्न, जहाँ अहिले स्विचयार्ड निर्माण भइरहेको छ।
फेदीदेखि बन्दीसम्म १४ वटा टावरमार्फत पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन।
आयोजनाबाट उत्पादन हुने विद्युत् चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गर्दै तिल्केनीचौरहुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ।
निर्माण कार्यमा संलग्न ठेकेदारहरू:
सिभिल र हाइड्रोमेकानिकलतर्फ देव ऊर्जा कन्ट्रक्सन,
इलेक्ट्रोमेकानिकलतर्फ बिएफएल, ब्याङलोर।
रु तीन अर्ब लागत अनुमान गरिएको आयोजना कुल लगानीमध्ये ७० प्रतिशत सिटिजन्स र माछापुच्छ्रे बैंकबाट ऋणस्वरूप जुटाइएको हो। बाँकी ३० प्रतिशतमा प्रवर्द्धकको १० प्रतिशत र सर्वसाधारणबाट सार्वजनिक सेयरमार्फत २० प्रतिशत लगानी संकलन गरिनेछ।