काठमाडौं । कम्युनिस्ट नेता तथा समाजसेवी मनिकबहादुर लामा ब्लोन (माणिक लामा)को जीवन संघर्ष, राजनीतिक यात्रा र सामाजिक योगदान समेटिएको ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण गरिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ, एमाले नेता गोकुल बाँस्कोटा, योगेश भट्टराई, पम्फा भुसाललगायत राजनीतिज्ञ तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूको उपस्थितिमा स्मृतिग्रन्थ लोकार्पण गरिएको हो।
वि.सं. २०१६ असार १९ गते काभ्रेको मादनकुँडारीमा जन्मिएका माणिक लामाको २०८२ भदौ १३ गते उपचारका क्रममा भारतमा निधन भएको थियो। कार्यक्रममा वक्ताहरूले नेपालको कम्युनिस्ट आन्दोलनमा उनले पुर्याएको योगदान अविस्मरणीय र अनुकरणीय रहेको चर्चा गरे।
सामाजिक रूपान्तरण, राजनीतिक चेतनाको विकास र जनपक्षीय अभियानमा लामाले पुर्याएको योगदानलाई स्मृतिग्रन्थमा समेटिएको छ। उनलाई सामाजिक, राजनीतिक, कूटनीतिक, विकासप्रेमी तथा क्रान्तिकारी व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको छ।
माणिक लामा प्रतिष्ठानले प्रकाशन गरेको स्मृतिग्रन्थमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालका शुभकामना सन्देशसमेत समावेश छन्। उनीहरूले लामाले सामाजिक तथा राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै उनको कार्य अनुकरणीय रहेको उल्लेख गरेका छन्।
राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले पनि कम्युनिस्ट आन्दोलनमा लामाले पुर्याएको योगदानको चर्चा गर्दै उनको विचार र नीतिलाई अनुशरण गर्न सके मात्र उनीप्रति वास्तविक सम्मान हुने बताए।
माणिक लामा एमाले नेतृ नविना लामाका पिता हुन्। नविनाले पनि स्मृतिग्रन्थमा आफ्ना पिता माणिक लामाको राजनीतिक संघर्ष र योगदानबारे चर्चा गरेकी छन्।
चार दशक लामो राजनीतिक संघर्ष
माणिक लामाले वि.सं. २०३७ सालमा तत्कालीन कम्युनिस्ट आन्दोलनमा औपचारिक रूपमा पार्टी सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। तत्कालीन नेकपा (चौथो महाधिवेशन) का स्थानीय नेता श्याम श्रेष्ठको नेतृत्वमा उनलाई चौँरीदेउराली क्षेत्रको सुरक्षा सचिवको जिम्मेवारी दिइएको थियो।
त्यसयता उनले गाउँ–गाउँमा संगठन विस्तार, जनचेतना अभिवृद्धि तथा वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गरेको स्मृतिग्रन्थमा उल्लेख छ।
राजनीतिक यात्राका क्रममा उनले विभिन्न कठिनाइ र संघर्ष सामना गरे। रामेछाप, दोलखा, सिन्धुपाल्चोकको चौतारा तथा केन्द्रीय जेलमा गरी उनले करिब चार वर्ष जेलजीवन बिताएका थिए।
केन्द्रीय जेलमा रहँदा उनको तत्कालीन कम्युनिस्ट नेता केपी शर्मा ओलीसँग भेट भएको थियो। उक्त भेटले उनको राजनीतिक दृष्टिकोणलाई थप परिपक्व बनाउन भूमिका खेलेको स्मृतिग्रन्थमा उल्लेख गरिएको छ।
वि.सं. २०४८ को आमनिर्वाचनमा काभ्रेमा कमानसिंह लामालगायत वामपन्थी उम्मेदवारलाई विजयी गराउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण र जनसम्पर्कका माध्यमबाट उनी काभ्रेका स्थापित वामपन्थी नेताका रूपमा परिचित बने।
एमालेदेखि माओवादीसम्म
पार्टीभित्रको मूल्याङ्कन, अवसर वितरण तथा आन्तरिक विभेदका कारण माणिक लामाले क्षेत्रीय सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएको उनकी छोरी नविनाले बताएकी छन्। व्यापक जनसमर्थन हुँदाहुँदै पनि उनी झिनो मतान्तरले पराजित भएका थिए।
त्यसपछि आफ्नो राजनीतिक संघर्षको उचित सम्मान नभएको महसुस गर्दै उनी नेकपा (एमाले)को मूलधारमा प्रवेश गरेको स्मृतिग्रन्थमा उल्लेख छ। एमाले प्रवेशपछि उनी निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका थिए।
उनले सत्रगाउँ, कात्तिके देउराली, भिर देउराली, तुसेनी शिवालय, बाँसखर्कलगायत क्षेत्रमा एमालेको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेको एमाले नेताहरूले स्मरण गरेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कोसीपारि क्षेत्रमा संगठन विस्तार तथा राजनीतिक अभियान सञ्चालन गर्न सहयोग पुर्याउन पनि उनको महत्वपूर्ण भूमिका रहेको बताइएको छ। उनको झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रूपनारायण श्रेष्ठलगायत नेतासँग निकट सम्बन्ध रहेको स्मृतिग्रन्थमा उल्लेख छ।
महाकाली सन्धिका विषयमा उत्पन्न वैचारिक मतभेदपछि उनले एमाले छाडेर नेकपा (माले)तर्फको राजनीतिक यात्रा अघि बढाए। त्यसपछि राष्ट्रियता, परिवर्तन र जनपक्षीय राजनीतिलाई केन्द्रमा राख्दै उनी नेकपा (माओवादी)मा प्रवेश गरेका थिए।
माओवादीमा रहँदा उनले जिल्ला सदस्य तथा ताम्सालिङ मोर्चाको नेतृत्व गर्दै संविधानसभा निर्वाचनमा पार्टीलाई विजयी बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको माओवादी नेताहरूले स्मरण गरेका छन्।
अन्तिम समयसम्म राजनीतिक सक्रियता
माओवादी आन्दोलनमा विभाजन आएपछि माणिक लामाले विभिन्न राजनीतिक धारमा रहेर काम गरेका थिए। उनले मोहन वैद्य ‘किरण’ नेतृत्वको धार तथा विप्लव नेतृत्वको राजनीतिक धारमा समेत काम गरेको स्मृतिग्रन्थमा उल्लेख गरिएको छ।
अन्ततः आफ्नै राजनीतिक विचार र लक्ष्यलाई अघि बढाउने उद्देश्यले उनले नेकपा (एकीकृत माओवादी) गठन गरी महासचिवको जिम्मेवारी सम्हालेका थिए। आफ्नै नेतृत्वमा संगठन विस्तार गर्दै उनले राजनीतिक तथा वैचारिक अभियानलाई निरन्तरता दिएका थिए।
राष्ट्रियता, सामाजिक न्याय र परिवर्तनका पक्षमा उनी अन्तिम समयसम्म अडिग रहेको विभिन्न राजनीतिक दलका नेताहरूले स्मरण गरेका छन्।
माणिक लामाको राजनीतिक जीवन विभिन्न कम्युनिस्ट धार हुँदै अघि बढे पनि सामाजिक रूपान्तरण, राष्ट्रियता, जनपक्षीय राजनीति र राजनीतिक चेतनाको विकास उनका अभियानका महत्वपूर्ण आधार रहेको स्मृतिग्रन्थमा प्रस्तुत गरिएको छ।


