काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी क्षेत्रका प्रमुख मागहरू सम्बोधन गर्ने प्रयास गरेको बताएका छन्।
बजेट सार्वजनिक भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले बजेटका केही व्यवस्थाहरू सकारात्मक रहेको उल्लेख गरे।
अध्यक्ष श्रेष्ठले विशेषगरी अन्तःशुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उत्पादन लागत बढिरहेको अवस्थामा यसले उद्योग व्यवसायलाई केही राहत पुग्ने विश्वास व्यक्त गरे। निजी क्षेत्रले लामो समयदेखि उत्पादन लागत घटाउन माग गर्दै आएको सन्दर्भमा बजेटले त्यसतर्फ ध्यान दिएको उनको भनाइ थियो।
उनले बजेटमार्फत कृषि क्षेत्रलाई पनि प्रोत्साहन गर्ने प्रयास गरिएको उल्लेख गर्दै स्वदेशमै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा यसले सहयोग पुग्ने बताए।
युवा पुस्तालाई उद्यमशीलता र रोजगारीतर्फ आकर्षित गर्ने नीति तथा कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको भन्दै उनले ती कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
श्रेष्ठले बजेटका सकारात्मक पक्षहरू व्यवहारमा उतार्न सके मात्र अपेक्षित परिणाम प्राप्त हुने धारणा व्यक्त गरे।


