काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गरी सङ्घलाई एकताबद्ध बनाउन सहयोग गर्न सबै पक्षलाई अपिल गरेको छ।
समितिका संयोजक एवं एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले विज्ञप्ति जारी गर्दै संस्थापक सदस्य, पूर्वअध्यक्षहरू तथा उच्चस्तरीय समितिका सदस्यहरूलाई महाधिवेशनको वातावरण बनाउन खुला छलफलमा सहभागी हुन आह्वान गरेका छन्।
उनले भनेका छन्, “अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ उपलब्धि हासिल गर्न लाग्नुपर्ने समय यही हो। विगतमा को–कोले के–के गरे भन्ने कुरा अहिले छाडौं। तोकिएको मितिमा महाधिवेशन आयोजना गर्नु नै एकताको सूत्र हो। फुटेर होइन, जुटेर अगाडि बढौं।”
संयोजक घलेले हाल देखिएको समस्याको समाधानका लागि सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल गर्न, संस्थालाई बलियो र एकजुट बनाउन र खुला संवादमार्फत साझा मार्ग निकाल्न आग्रह गरेका छन्।


