काठमाडौँ, १३ साउन— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ। सोमबार कञ्चनपुरमा आयोजना स्थलको अवलोकन गर्दै मन्त्री खड्काले सरकारले आयोजना समयमै सम्पन्न गर्न गम्भीर प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो।
मन्त्री खड्काले हालसम्मको कार्यप्रगति सराहनीय रहेको उल्लेख गर्दै निर्धारित लक्ष्य हासिल गर्न अझ प्रभावकारी ढंगले काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले महाकाली सिँचाइ आयोजना सुदूरपश्चिम क्षेत्रको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वाकांक्षी आयोजना भएको उल्लेख गर्नुभयो।
“किसानको खेतमा पानी पुर्याउने सरकारको पूर्ण प्रतिबद्धता छ, कुनै कमजोरी सह्य हुने छैन,” मन्त्री खड्काले भन्नुभयो। उहाँका अनुसार यो राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्नु सरकारको प्राथमिकतामा छ।
टनकपुर ब्यारेजबाट प्राप्त पानी प्रयोग गरिने आयोजनाबाट कञ्चनपुरका ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनबस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ।
हालसम्म आयोजनाअन्तर्गत ३० किलोमिटर मूल नहर र १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ। करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति २४.२२ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मात्रै ८३.९७ प्रतिशत भौतिक प्रगति हासिल गरिएको आयोजना कार्यालयले जनाएको छ।
मन्त्री खड्काले आयोजनाजस्ता ठूला पूर्वाधारले स्थानीय उत्पादन क्षमतामा वृद्धि गरी राष्ट्रिय समृद्धिमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। “भौगोलिक दूरी, ढिलासुस्ती वा प्रविधिगत चुनौतीहरूले रोक्न सक्दैन; योजनाबद्ध ढंगले अघि बढेर लक्ष्यमा पुग्नुपर्छ,” उहाँको भनाइ थियो।
निरीक्षण कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, मन्त्रालयका उच्च अधिकारीहरू र स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।


