जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ । दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । पत्र सचिवालयमा दर्ता भइसकेको छ ।
यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए ।
तर अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका हुन् ।
सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।
यसैबीच यादव समूहले दुई अध्यक्षबीचको सहमति विपरित महतोलाई नै संसदीय दलको नेता बनाइएको जानकारी संघीय संसद सचिवालयलाई गराउने काम भएको भन्दै आपत्ति जनाएको छ ।
जसपा नेपालका कार्यकारी सदस्य मोहम्मद इस्तियाक राईले दुईजना अध्यक्षको बीचमा भएको सहमति विपरित पार्टीका वरिष्ठ नेता महतोलाई नै संसदीय दलको नेता रहेको जानकारी गराउने काम अर्को पक्षबाट भएको दावी गरे । उनले भने, ‘अध्यक्षद्वयबीच गुटबन्दी बैठकबाट भएका निर्णय खारेज गर्ने सहमति भएको हो । तर सो सहमति विपरित महतो संसदीय दलको नेतामा चयन भएको भनि अध्यक्ष ठाकुरले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता गराइएको छ, यो पार्टी एकतालाई भाँड्ने नियत हो ।’
पार्टीको एकता कायम राख्न प्रयास हुँदाहुँदै संसदीय दलको बैठकबाट निर्णय भएको भन्दै संघीय संसद सचिवालयलाई जानकारी गराउने कार्य एकता विरोधी हर्कत भएकाले यसलाई अध्यक्ष ठाकुरले सच्याउनुपर्नेमा उनले जोड दिए ।
यादव पक्षका उनले रातोपाटीसँग भने, ‘यो पत्र पनि फर्जी रहेको छ, पत्रमा १ गते लेखिएको थियो, आज दुईजना अध्यक्षको बीचमा सहमति हुने वित्तिकै हतार हतारमा १ लाई ४ बनाएर संसद सचिवालयमा दर्ता गराएको देखिन्छ । पत्रमा महन्थ ठाकुरको हस्ताक्षर रहेको छ । दुईजना अध्यक्षबीच वार्ता सुरु हुनुभन्दा पहिला नै सो पत्र तयार गरेर राखेको थियो । यता सहमति भएको विज्ञप्ति जारी हुने वित्तिकै दर्ता गराइएको छ । यसले पार्टी एकतावद्ध नरहन पनि सक्छ ।’ रातोपाटीबाट