काठमाडौं: रूसको राजधानी मस्कोमा मंगलबार भएको बम विष्फोटमा रुसी सेनाका एक उच्च तहका अधिकारीको मृत्यु भएको छ। उक्त घटनामा लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ, जो न्यूक्लियर, बायोलोजिकल, र केमिकल डिफेन्स फोर्समा तैनाथ थिए, ज्यान गुमाएका हुन्।
रसियाको अनुसन्धान समितिका अनुसार, विस्फोटक पदार्थ स्कुटरमा लुकाइएको थियो। विस्फोटले किरिलोभका एक सहायकको पनि ज्यान लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ, तर प्रारम्भिक विवरणअनुसार यो योजनाबद्ध हमला भएको हुन सक्ने आशंका गरिएको छ।
इगोर किरिलोभको नाम अन्तर्राष्ट्रिय रूपमा पनि विवादास्पद रहेको थियो। अक्टोबर महिनामा, बेलायतले युक्रेनविरुद्धको युद्धमा सम्भावित रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो। साथै, उनलाई “क्रेमलिनको मुखपत्र” बनेको आरोप लगाइएको थियो।
किरिलोभले न्यूक्लियर, बायोलोजिकल, र केमिकल हतियारसम्बन्धी रुसी रणनीतिमा प्रमुख भूमिका निर्वाह गरेका थिए। उनको मृत्युले रसियाली सेनाको यस क्षेत्रका तयारी र नेतृत्वमा प्रभाव पार्न सक्ने सम्भावना छ।
घटनाको पृष्ठभूमिमा पछिल्लो समय मस्कोमा सुरक्षा चुनौतीहरू बढेको देखिन्छ। युक्रेन युद्धका कारण उत्पन्न आन्तरिक र अन्तर्राष्ट्रिय तनावका बीच यो घटनालाई पनि थप दबाबको रूपमा हेरिएको छ।


