गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका तथ्याङ्कअनुसार ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न देशका १७ टिमबाट दुई सय २४ जनाले अनुमति प्राप्त गरेका हुन्।
तीमध्ये १६९ पुरुष र ५५ महिला रहेका छन्। उनीहरूबाट सरकारलाई नौ करोड ४३ लाख २२ हजार ८६० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
यो सिजनमा सबैभन्दा धेरै आरोहीले मनास्लुलाई लक्ष्य बनाएका छन्। शुक्रबारसम्म सगरमाथा आरोहणका लागि केवल एक जनाले, र ल्होत्से आरोहणका लागि दुई जनाले मात्र अनुमति लिएका छन्। सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जना र छ हजार ३९५ मिटर अग्लो ल्यायुल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन्।
गत वर्ष यसै सिजनमा ४०१ जनाले मनास्लु आरोहणका लागि अनुमति लिएका थिए। हाल सामागाउँ क्षेत्रमा रोप फिक्सिङ (डोरी टाँग्ने) कार्य भइरहेको छ र आरोहीहरू क्रमशः आइपुग्न थालेका छन्। धेरैजसो आरोही लमजुङ–मनाङ हुँदै लार्के पास पार गरेर सामागाउँ पुग्ने गर्छन् भने केही हेलिकप्टरमार्फत पनि पुग्ने गरेका छन्।
यस सिजनमा सबैभन्दा धेरै ४३ जना चिनियाँ आरोहीले अनुमति लिएका छन्। पोल्याण्डका २५, रुसका २३, नेपाली २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ र क्यानडाका १० आरोहीले पनि अनुमति लिएका छन्।
पर्यटन विभागका निर्देशक एवं सूचना अधिकारी लीलाधर अवस्थीले शरद ऋतुका लागि अनुमति लिन आउनेहरूको सङ्ख्या अझै बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बल्ल सिजन सुरु भएको छ, केही दिनमै धेरै आरोहीहरू अनुमति लिन आउनेछन्।”


