कुन–कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम?
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज महाकाली, कर्णाली, गण्डकी र यी नदीहरुका सहायक नदीहरुमा जलसतह उल्लेख्य बढ्ने तथा कोशी र यसका सहायक नदीहरुमा समेत जलसतह बढ्ने पूर्वानुमान रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भई विशेष गरी महाकाली, कर्णाली, भेरी, सेती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्ने पूर्वानुमान रहेको छ।


