काठमाडौँ । चर्चित अभिनेता प्रकाश राजले आफ्नो मताधिकार खोसिएको दाबी गरेका छन्। उनले बेङ्गलुरु निर्वाचन क्षेत्रको मतदाता नामावलीबाट आफ्नो नाम हटाइएको बताएका हुन्। ‘विशेष संक्षिप्त पुनरीक्षण’ (एसआईआर) प्रक्रियापछि आफ्नो नाम मतदाता सूचीबाट हटाइएको उनको दाबी छ।
बेङ्गलुरुमै जन्मे–हुर्केका तथा त्यहीँ अध्ययन र रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरेका प्रकाश राजले घटनाप्रति व्यङ्ग्य गर्दै यसलाई ‘उत्कृष्ट ठट्टा’ भनेका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’मा भिडियो सार्वजनिक गर्दै मतदाता नामावलीबाट आफ्नो नाम हटाइनु ठूलो विडम्बना भएको बताएका छन्। उनले अब आफ्नो मतदाता परिचयपत्र फिर्ता लिन कस्ता–कस्ता कागजात बुझाउनुपर्ने हो, हेर्न बाँकी रहेको टिप्पणी गरेका छन्।
प्रकाश राजले आफूलाई चुनौतीपूर्ण शैलीमा प्रस्तुत गर्दै “खेल अझै बाँकी छ” भन्ने सन्देशसमेत दिएका छन्। आफूहरूको मताधिकार खोस्न सकिए पनि राजनीतिक रूपमा आफूले उठाउँदै आएको प्रश्नलाई रोक्न नसकिने उनको भनाइ छ।
भिडियोसँगै सार्वजनिक गरेको क्याप्सनमा उनले आफूलाई मन नपराउने वा पुनः सत्तामा नल्याउन सक्ने नागरिकको मताधिकार खोस्न सकिए पनि सत्तामा रहेकाहरूलाई त्यसबाट हटाउने प्रयास रोक्न नसकिने आशय व्यक्त गरेका छन्।
यसअघि गत जुन महिनामा बेङ्गलुरुको एक अदालतले प्रकाश राजविरुद्ध गैरजमानती वारेन्ट जारी गरेको थियो। उनीमाथि भारतका विभिन्न राज्यबाट मतदाता परिचयपत्र लिएको आरोप लगाइएको थियो।
सन् २०१९ मा अधिवक्ता दिलीप कुमारले प्रकाश राजविरुद्ध ‘हलासुरु गेट’ प्रहरी चौकीमा उजुरी दिएका थिए। उजुरीमा प्रकाश राजसँग चारवटा राज्यको मतदाता परिचयपत्र रहेको र उनले निर्वाचनसम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाइएको थियो।
उजुरीमाथि प्रहरीले कारबाही नगरेपछि दिलीप कुमारले बेङ्गलुरु सहरका प्रहरी आयुक्त र निर्वाचन आयोगमा समेत सम्पर्क गरेका थिए। त्यहाँबाट पनि अपेक्षित प्रतिक्रिया नआएपछि उनी अदालत पुगेका थिए।
अदालतले प्रकाश राजलाई उपस्थित हुन दुई पटक सम्मन जारी गरे पनि उनी अदालतमा उपस्थित नभएपछि गैरजमानती वारेन्ट जारी गरिएको बताइएको छ।
दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित अभिनेता प्रकाश राज अभिनयसँगै सामाजिक तथा राजनीतिक मुद्दामा स्पष्ट धारणा राख्ने कलाकारका रूपमा पनि परिचित छन्। उनी आगामी चलचित्र ‘दृश्यम ३’ मा समेत देखिँदै छन्। पछिल्लो समय पनि विभिन्न सामाजिक तथा राजनीतिक विषयमा उनको अभिव्यक्ति सार्वजनिक हुँदै आएको छ।


