Saturday, September 19, 2026
Homeसामाचारमङ्गलबारदेखि मनसुन थप सक्रिय हुने, धेरै स्थानमा भारी वर्षाको सम्भावना

मङ्गलबारदेखि मनसुन थप सक्रिय हुने, धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर कमजोर बनेको मनसुन अबको केही दिनभित्र थप सक्रिय हुने र अधिकांश क्षेत्रमा वर्षा गराउने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल केही स्थानमा भारी वर्षा भइरहे पनि मङ्गलबारपछि मनसुन अझ सक्रिय भई देशका धेरै क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

उनका अनुसार आज राति कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। भोलि (आइतबार) राति पनि कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ।

आइतबार सुदूरपश्चिम प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पश्चिमी तराईका केही क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना पनि रहेको छ।

सोमबारदेखि भने मनसुनको प्रभाव थप बढ्नेछ। विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

सोमबार कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ।

विभागका अनुसार सोमबार रातिदेखि मनसुन अझ सक्रिय भई कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

मौसमविद् धर्मराज उप्रेतीका अनुसार असार १४ देखि १७ गतेसम्म मनसुन थप सक्रिय रहनेछ भने असार १६ देखि १८ गतेसम्म देशका विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने सम्भावना छ। उनका अनुसार यस वर्षाले धान रोपाइँका लागि अनुकूल वातावरण बनाउने अपेक्षा गरिएको छ।

उप्रेतीले सोमबारपछि पश्चिम नेपालका बाँकेदेखि कञ्चनपुरसम्मका जिल्लामा पनि उल्लेखनीय वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका