Sunday, November 8, 2026
Homeसामाचारमकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बिहान करिब ७ः४५ बजे स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा सञ्चालित किराना पसलमा आगलागी भएको हो।

पसल सञ्चालक गम्भीर घाइते

४५ वर्षीय जिम्बा आगो निभाउने क्रममा गम्भीर घाइते भएका छन्। उनका हातखुट्टा जलेका छन्। हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल हुँदै कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ। शरीरको करिब ४० प्रतिशत भाग जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा दुर्घटना भएको हो। ड्रम पल्टिँदा पेट्रोल फैलिएको र त्यसपछि आगो तीव्र गतिमा पसलेको बुझिएको छ।

दुई घण्टापछि नियन्त्रण

दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो। तर त्यसअगावै जिम्बाको घर पूर्ण रूपमा जलेको थियो।

ठूलो धनमाल नष्ट

आगलागीमा करिब १५ लाख नगदसहित ३० ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर र पसलका सामान जलेका छन्। जिम्बाको बा.प्र.०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल र सामान किन्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल समेत जलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सम्पूर्ण क्षतिको मूल्य करिब दुई करोड रुपैयाँ बराबरको भएको अनुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका