काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ६६९ वटा शव फेला परेका छन्।
नेपाल प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै २४८ वटा शव फेला परेका छन्। यस्तै, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ८५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ। विपद्का क्रममा २७ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन रहेका छन्।
यसैगरी, बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिको सङ्ख्या २ हजार ३७१ पुगेको छ। जसमध्ये रसुवामा ६७६, नुवाकोटमा १ हजार ६२२ र धादिङमा तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको सङ्ख्या १४० रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।


