काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले बुधबार साँझ ५ः४५ बजेसम्म विभिन्न जिल्लाबाट ९५ जनाको शव फेला परेको जनाएको छ।
प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। धादिङमा ११ महिला, पाँच पुरुष र पहिचान नखुलेका दुई जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, गोरखामा एक महिला, चार पुरुष, एक बालक तथा पहिचान नखुलेका १० जनाको शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक तथा पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ।
तनहुँमा तीन पुरुष, एक बालिका र एक बालक गरी पाँच जनाको मृत्यु भएको छ भने नवलपरासी पूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा तीन जना र ग्रिनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा खटिएका केही प्रहरी सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार टिमुरेबाट १०, स्याफ्रुबेँसीबाट तीन, मैलुङबाट पाँच, वेत्रावतीबाट एक र हाकुबाट दुई जना प्रहरी सम्पर्कविहीन छन्। रसुवागढीबाट पनि प्रहरी सम्पर्कविहीन भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। नदी आसपासका बस्ती तथा विभिन्न पूर्वाधारमा समेत व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ।
बेपत्ता नागरिक तथा सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी, प्रभावितको उद्धार र राहत वितरणलाई तीव्रता दिइएको छ। प्रहरीले प्रभावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा नदी आसपासका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।


