Thursday, August 27, 2026
Homeसामाचारभोटेकोशी बाढीपीडितको सहयोगमा नेपाली कलाकार, नगददेखि जिन्सीसम्म सहयोग

भोटेकोशी बाढीपीडितको सहयोगमा नेपाली कलाकार, नगददेखि जिन्सीसम्म सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाली कला क्षेत्र सक्रिय बनेको छ। कलाकारहरूले सरकारी राहत कोषमा आर्थिक सहयोग गर्नेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउनेसम्मका प्रयास थालेका छन्।

कलाकारबाट नगद सहयोग

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। अभिनेता विराज भट्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

अभिनेत्री निता ढुङ्गाना तथा गायिकाद्वय रचना रिमाल र बेनिशा पौडेलले सरकारको राहत कोषमा जनही १ लाख रुपैयाँ सहयोग गरेका छन्।

अभिनेत्री माल्भिका सुब्बा तथा निर्माता–वितरक गोविन्द शाहीले जनही ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन्। निर्माता सुशील पोखरेलले ३३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा सहयोग गरेका छन्।

गायक शिव परियार र गायिका एलिना चौहानले जनही २५ हजार रुपैयाँ तथा लोकगायिका राधिका हमालले २१ हजार रुपैयाँ सहयोग गरेका छन्। गायक रामकृष्ण ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

यसैगरी अभिनेत्री आँचल शर्मा, मिरुना मगर, ऋचा शर्मा, अभिनेता अनमोल केसी, गायिका प्राश्ना शाक्य, कलाकार गजित विष्टलगायत अन्य कलाकर्मीले पनि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेका छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफ्नो आधा महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।

२५ लाख रुपैयाँ बराबरको जिन्सी सहयोग

मोडल तथा व्यवसायी दीपा सिंखडाले आफ्नो व्यावसायिक स्टकमा रहेको करिब ५० लाख रुपैयाँ बराबरको कपडामध्ये ५० प्रतिशत अर्थात् करिब २५ लाख रुपैयाँ मूल्य बराबरका कपडा बाढीपीडितलाई निःशुल्क वितरण गर्ने घोषणा गरेकी छन्।

खुट्टा भाँचिएका कारण आफू स्वयं प्रभावित क्षेत्रमा जान नसक्ने बताउँदै उनले विश्वसनीय तथा आधिकारिक संस्था वा सरकारी निकायमार्फत उक्त सामग्री प्रभावितसम्म पुर्‍याउन आग्रह गरेकी छन्।

उद्धार र सावधानीका लागि कलाकारको अपिल

बाढी आएलगत्तै अभिनेता राजेश हमालले सुरक्षा निकायका आपत्कालीन सम्पर्क नम्बरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका थिए।

अभिनेता निखिल उप्रेतीले भिडियो सन्देशमार्फत विपद्को सामना गर्न सबैलाई एकजुट हुन आह्वान गरेका छन्। अभिनेता प्रदीप खड्काले प्रभावितको ज्यान जोगाउन हरेक मिनेट महत्त्वपूर्ण रहेको भन्दै उद्धार तथा राहत कार्यमा तत्काल सक्रिय हुन अपिल गरेका छन्।

दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, रेखा थापा, प्रियंका कार्की, केकी अधिकारीलगायत कलाकारले पनि विपद्को समयमा सबै एकजुट हुन तथा नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

कला क्षेत्रका संस्थागत सहयोग

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ लाख १ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानको केन्द्रीय समितिको बिहीबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष रीता थापामगर र महासचिव शिव हमालले संयुक्त विज्ञप्तिमार्फत सहयोगको जानकारी दिएका छन्।

त्यसैगरी, गीतकार सङ्घ नेपालले भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्दै बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार रुपैयाँ जम्मा गरेको छ।

सङ्घले विपद्का कारण पीडामा रहेका परिवारलाई आफ्नो सहयोगबाट केही राहत पुग्ने विश्वास व्यक्त गर्दै विपद्को समयमा नेपालीप्रति ऐक्यबद्धता जनाउन तथा विषम परिस्थितिमा संयमित भएर देश र जनताको हितमा समर्पित हुन गीतकार सदस्यलगायत सबैमा आह्वान गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका