काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको जनाउँदै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्य निरन्तर भइरहेको जनाएको छ।
शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले प्रभावित नागरिकका लागि इच्छुक दातृ निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारलाई खोज, उद्धार तथा गैरखाद्य राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको हो।
खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र प्रभावित परिवारलाई शीघ्र राहत उपलब्ध गराउन विभिन्न सामग्री आवश्यक रहेको प्राधिकरणले जनाएको छ। इच्छुक दातृ निकाय तथा अन्तर्राष्ट्रिय विकास साझेदारले खोज, उद्धार र गैरखाद्य राहत सामग्री उपलब्ध गराउन सक्नेछन् भने अन्य संघसंस्था, नागरिक समाज तथा निजी क्षेत्रले खाद्य तथा गैरखाद्य राहत सामग्रीसमेत सहयोग गर्न सक्नेछन्।
हवाईमार्गबाट पठाइने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आपत्कालीन गोदामघरमा बुझाउनुपर्नेछ। स्थलमार्गबाट पठाइने सामग्री नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी, काठमाडौं, मैथली ब्यारेक, बट्टार, नुवाकोट वा जिल्ला प्रशासन कार्यालय, धुन्चे, रसुवामा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
यसैगरी, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सामग्री सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहमा समेत उपलब्ध गराउन सकिने प्राधिकरणले जनाएको छ।
सूचनामा उल्लेख गरिएका सामग्रीबाहेक अन्य सामग्री सहयोग गर्न चाहने दाताले पहिले उपलब्ध गराउन चाहेको सामग्रीको विवरण प्राधिकरणलाई इमेलमार्फत पठाउनुपर्नेछ। प्राधिकरणबाट त्यस्ता सामग्री उपलब्ध गराउन सहमति प्राप्त भएपछि मात्र सहयोग गर्न सकिने जनाइएको छ।


