काठमाडौं:सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल प्रवेश गरेका चार शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले हाल झापामा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ, र आशिष सुवेदीलाई निष्काशन नगर्न अन्तरिम आदेश दिएको हो।
सर्वोच्चले उनीहरूलाई वैशाख ११ गते इजलासमा उपस्थित गराउनसमेत आदेश दिएको छ। थुनामा रहेका यी भुटानी शरणार्थीलाई रिहाइको माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
उनीहरू अमेरिकाबाट डिपोर्ट भएपछि भारत हुँदै भुटान गएका थिए। तर, भुटानले पुनः देश निकाला गरेपछि उनीहरू नेपाल आएका थिए। त्यसपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिई निष्काशनको तयारी गरेको थियो।