रसुवा, २४ असार: नेपाल–चीन सीमा नजिकको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले टिमुरेमा रहेको मितेरी पुल पूर्ण रूपमा बगाएको छ। बाढीले टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा पार्क गरिएका गाडीहरू पनि बगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीपछि भन्सार क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धार गर्न गएका ११ जना उद्धारकर्मी स्वयं बाढीमा फसेका छन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्न पहल भइरहेको जनाइएको छ।
बाढीले कति क्षति पुर्यायो भन्ने विवरण सङ्कलन भइरहेको अधिकारीले बताए। उता, रसुवागढी जलविद्युत् आयोजनाका केही कर्मचारीहरू पनि बाढीको चपेटामा परेकाले उद्धारको पर्खाइमा रहेको आयोजनाले जानकारी दिएको छ।


