काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि यसको उपलब्धि र प्रभावबारे बहस निरन्तर जारी छ । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व विकास र परराष्ट्र नीतिमा अपेक्षित परिणाम नआएको भन्दै पूर्वसचिव तथा विश्लेषक भीम उपाध्यायले वर्तमान राजनीतिक व्यवस्थाप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् ।
नेपाल न्यूज बैंकसँगको संवादमा उनले गणतन्त्र अझै पूर्ण रूपमा संस्थागत हुन नसकेको टिप्पणी गरे । उनका अनुसार संविधान बने पनि त्यसको प्रभावकारी कार्यान्वयन कमजोर रहेको छ। उनले भने, ‘गणतन्त्र आएपछि संविधान बन्यो, तर त्यसको कार्यान्वयन र आवश्यक कानुन निर्माण अपेक्षाअनुसार हुन सकेन।’
उपाध्यायले गणतन्त्रलाई केवल राजतन्त्र हटाउने प्रक्रियाका रूपमा बुझ्नु पर्याप्त नभएको बताए । उनका अनुसार राज्यले नागरिकलाई परिणाम दिन नसके व्यवस्था प्रतिप्रश्न उठ्नु स्वाभाविक हो। उनले नागरिकले आज पनि गणतन्त्रको वास्तविक परिवर्तनबारे प्रश्न उठाइरहेको बताए।
पूर्वसचिव उपाध्यायले नेपालमा राजनीतिक नेतृत्वले जनअपेक्षा पूरा गर्न नसकेको र संस्थागत संरचना कमजोर रहेको आरोप लगाए। उनका अनुसार विकास, प्रशासन र सेवा प्रवाह अपेक्षित रूपमा सुधार हुन सकेको छैन।
उनले नेपालमा नेतृत्व हस्तान्तरण कमजोर भएको भन्दै राजनीतिक नेतृत्व ‘बीउविहीन’ बन्दै गएको टिप्पणी गरे। साथै, सक्षम नेताले नयाँ पुस्ता तयार गर्नुपर्ने भए पनि नेपालमा त्यसको अभाव रहेको उनले बताए।
उपाध्यायले नेपालको परराष्ट्र नीतिलाई पनि कमजोर भएको भन्दै गृह र परराष्ट्र सन्तुलन आवश्यक रहेको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय शक्तिहरूसँग सन्तुलित कूटनीति नअपनाउँदा देशले चुनौती सामना गर्नुपरेको छ।
उनले वर्तमान राजनीतिक प्रणालीमा प्रभावकारी प्रतिपक्षको अभाव रहेको उल्लेख गर्दै लोकतन्त्रमा सशक्त प्रतिपक्ष अनिवार्य हुने बताए। साथै, सरकारका कामकारबाहीमा निगरानी कमजोर भएको उनको टिप्पणी छ।
उपाध्यायले युवा पुस्तालाई राजनीतिक नेतृत्वमा अवसर दिनुपर्ने आवश्यकता औंल्याउँदै पुरानो पुस्ताले मात्र सत्ता नियन्त्रणमा राख्दा समस्या बढ्ने बताए।


