Wednesday, July 1, 2026
Homeसामाचारभारत–पाकिस्तान तनाव चर्किएपछि प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठक

भारत–पाकिस्तान तनाव चर्किएपछि प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौं: भारत र पाकिस्तानबीच चर्किएको तनावका कारण उत्पन्न सम्भावित क्षेत्रीय सुरक्षापरिस्थिति मूल्याङ्कन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को आकस्मिक बैठक डाकेका छन्।

सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेनाका रथी निर्मलकुमार थापा, नेपाल प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए।

बैठकमा भारत–पाकिस्तानबीच युद्ध सुरु भएको अवस्थामा खुला सीमाबाट हुने जोखिमका सन्दर्भमा विशेष छलफल गरिएको स्रोतले जनाएको छ। त्यसअनुसार सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पार्ने निर्णय गरिएको हो।

यसअघि गृह मन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सीमा, विमानस्थल र संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाउने निर्णय गरिसकेको थियो। त्यसको पालना गर्दै गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई उच्च सतर्कता (हाइ अलर्ट) मा बस्न निर्देशन दिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँग समन्वय गर्दै संयुक्त गस्ती, सूचनाको आदान–प्रदान र निगरानीलाई तीव्र बनाएको जनाएको छ। एक बिओपी (बोर्डर आउट पोस्ट) बाट अर्को बिओपीसम्म २४ घण्टा नियमित गस्ती गरिने व्यवस्था गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार अवैध घुसपैठ रोक्न विशेष निर्देशनसहित सबै बाहिनीपतिको नेतृत्वमा सीमा सुरक्षालाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ। चेकपोइन्टहरूमा आवश्यक कागजात तथा परिचयपत्रको परीक्षण र अभिलेख राख्ने कार्य समेत भइरहेको छ।

संवेदनशील स्थानहरूमा निगरानी, चेकजाँच र सूक्ष्म सूचना संकलनको कार्य पनि सक्रिय रूपमा जारी छ। यसका लागि नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समेत समन्वय गरी सूचनाको आदान–प्रदान भइरहेको छ।

तर, नेपाल–भारत खुला सिमानाको दीर्घकालीन परम्परालाई ख्याल गर्दै सशस्त्र प्रहरी बलले नियमित र परम्परागत आवतजावतमा अनावश्यक असहजता नहोस् भन्ने विषयमा पनि सचेतता अपनाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका