मुम्बई : भारतको महाराष्ट्र प्रान्तमा एक साताका लागि ‘कडा प्रतिबन्ध’सहितको ‘लकडाउन’ हुने भएको छ । साथै रात्रिकालिन ककर्फ्यूसमेत जारी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लकडाउन सोमबारबाट लागू हुनेछ भने शुक्रबारबाट सोमबारसम्मका लागि पूर्ण प्रतिबन्धसहित ककर्फ्यू लागू हुनेछ । ककर्फ्यू शुक्रबार राति ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म जारी गरिने बताइएको छ ।
आइतबार महाराष्ट्रमा पछिल्लो केही समय यताकै सर्वाधिक कोरोना संक्रमित भेटिएसँगै नयाँ प्रतिबन्ध घोषणा भएको हो ।
प्रतिबन्धपछि पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा दिनमा भेला हुन पाइने छैन । त्यस्तै सपिङ मल, रेस्टुराँ, बार, मन्दिर तथा मस्जिदहरू बन्द हुनेछन् । तर अति आवश्यक तथा उपभोग्य सामानको भने ‘होम डेलिभरी’ गर्न दिइने बताइएको छ ।
यसैगरी औद्योगिक क्षेत्र तथा निर्माण कार्यलाई नियमित गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
व्यक्तिगत सवारी साधनमा प्रतिबन्ध नलगाइए पनि सार्वजनिक सवारी भने ५० प्रतिशत मात्र चल्ने बताइएको छ । साथै आधा क्षमतामा मात्र ती सवारी साधनले सञ्चालन अनुमति पाउने छन् ।
आइतबार भारतमा १ लाख ३ हजार बढी मानिसलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । जसमध्ये आधाभन्दा धेरै महाराष्ट्रमै संक्रमित रहेको बताइएको छ ।
अन्नपूर्णबाट साभार