काठमाडौं — भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) र अन्य सम्बन्धित अधिकारीहरूलाई आयोगमा उपस्थित हुन निर्देशन दिएको छ।
आयोगको बिहीबार बसेको बैठकले तत्कालीन घटनाबारे अनुसन्धानका लागि पूर्वआईजीपी चन्द्रकुबेर खापुङलाई आयोगमा उपस्थित गराउन आवश्यक ठानेको र हालका लागि उनको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ। खापुङ आजैदेखि सेवा निवृत्त भएका हुन्।
आयोगले खापुङलाई काठमाडौं उपत्यका बाहिर नजान पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने बताएको छ।
त्यसैगरी, घटनाबाट भएको क्षतिको विवरण अझै बाँकी भएमा आयोगको ठेगानामा वा सिंहदरबारस्थित कार्यालयमा उपलब्ध गराउन सबै सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।
आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार आयोगका निर्णय र सूचनाहरू गृह मन्त्रालयको वेबसाइटमा पनि हेर्न सकिन्छ।



