Thursday, May 14, 2026
Homeप्रवासबेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघ्यो

कोरोना महामारी सुरुवात भएको लगभग दुई वर्ष पुग्नै लाग्दा यस अवधिभरमा बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । पछिल्लो समयमा बेलायतमा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढ्दै गएको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ४७ हजार २४० नयाँ सङ्क्रमित थपिएका छन्, जुन गत अक्टोबरयताकै उच्च हो । यससँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक मिलियनभन्दा बढी अर्थात् एक करोड २१ हजार ४९७ पुगेको छ । कोरोनाकै कारण हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या झन्डै २६ करोड नाघेको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा १४७ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४४ हजार ४३३ पुगेको छ । तर, कोरोनाका कारण मृत्यु भएको मृत्यु दर्ताका आधारमा भने मृतक सङ्ख्या झन्डै एक लाख ६८ हजार रहेको छ । विश्वभरमा झन्डै ५२ लाख मानिसको कोरोनाका कारण ज्यान गइसकेको छ ।

बेलायतमा अहिले २८.५ प्रतिशतले  कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात् बुष्टर डोज लगाइसकेको सरकारी तथ्याङ्कमा उल्लेख छ ।  बिहीबारसम्मको तथ्याङ्क अनुसार यहाँ एक करोड ६३ लाख  ८३ हजार ५७५ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घण्टामा  तीन लाख ७८ हजार भन्दा बढीले  बुष्टर डोज लगाएका छन् । यसैगरी  पाँच करोड ८५ लाख दुई हजार १३३  जना अर्थात् ८८.४ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ६२ लाख ३२ हजार २५८ जना अर्थात् ८०.४  प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

सङ्क्रमण दर उच्च रहे पनि बेलायतमा अस्पताल भर्ना हुने कोरोना सङ्क्रमितको सङ्ख्या भने केही ओरालो लागेको छ । पछिल्लो २४ घण्टामा ७४५ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । हाल ७ हजार ६४१ जना सङ्क्रमितको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य विभागले जानेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका