Friday, May 8, 2026
Homeसामाचारबीमा ऐन उल्लङ्घनमा आठ कम्पनी कारबाहीमा, जरिवाना र निलम्बनसम्मको निर्णय

बीमा ऐन उल्लङ्घनमा आठ कम्पनी कारबाहीमा, जरिवाना र निलम्बनसम्मको निर्णय

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधान पालना नगर्ने आठ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। कानुनी व्यवस्था बमोजिम काम नगरेको पाइएपछि ती कम्पनीमाथि कारबाही गरिएको हो।

कारबाहीमा पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेका छन्। प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेलका अनुसार ती कम्पनीहरूले ऐनविपरीत कार्य गरेका थिए।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ। त्यस्तै, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई नियमविपरीत कार्य गरेको पाइएपछि तीन महिनाका लागि निलम्बन गरिएको छ।

अन्य कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनअनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।

बीमा ऐनको दफा १३८ (४) अनुसार प्राधिकरणको निर्देशन उल्लङ्घन गर्ने निकायलाई २ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। पहिलोपटक उल्लङ्घन गरेमा २ लाख, दोस्रोपटक २५ लाख र तेस्रोपटक वा सोभन्दा बढी उल्लङ्घन भएमा प्रत्येक पटक ५० लाख रुपैयाँ जरिवाना हुने प्रावधान रहेको छ। यसपटक पहिलो उल्लङ्घनका आधारमा जरिवाना गरिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका